
बागलुङ, भदौ २१ — जैमिनी ब्याडमिन्टन संघको आयोजना तथा जैमिनी नगरपालिका–९ को मुख्य सहयोगमा आयोजना हुने तय भएको तीज मेला–२०८३ स्थगित गरिएको छ।
संघले आइतबार एक सूचना जारी गर्दै भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको तथा मुलुक शोकको अवस्थामा रहेकाले यस वर्षको तीज मेला स्थगित गर्ने निर्णय गरिएको जनाएको हो।
संघले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।
विपद्का बेला उद्धार तथा राहत कार्यमा अहोरात्र खटिएका सुरक्षा निकाय, स्वयंसेवक तथा नेपाल सरकारप्रति आभार व्यक्त गर्दै संघले कार्यक्रम स्थगनका कारण सरोकारवाला तथा दर्शकमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ।
हाल देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोपीडितको राहत, उद्धार र पुनःस्थापनाको कार्य जारी रहेकाले सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गरिएको संघले जनाएको छ।









