रसुवा–नुवाकोटका बाढीपीडितलाई लायन्स डिस्ट्रिक्ट ३२५ आरको राहत

-


     राजेशचन्द्र राजभण्डारी     
     भाद्र २१ गते २०८३ मा प्रकाशित


काठमाडौं, भदौ २१ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आर नेपाल अन्तर्गतका लायन्स तथा लियो क्लबहरूले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोटलगायतका क्षेत्रका पीडित परिवारलाई राहत सामग्री वितरण गरेका छन्।

सेवा नै धर्म हो’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै डिस्ट्रिक्ट ३२५ आरले भदौ १० गते आएको बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–७, तुप्चे क्षेत्रका प्रत्यक्ष प्रभावित परिवारलाई भदौ २० गते राहत सामग्री हस्तान्तरण गरेको हो।

डिस्ट्रिक्ट सचिव पूर्णप्रसाद शर्माका अनुसार डिस्ट्रिक्ट अन्तर्गतका विभिन्न लायन्स तथा लियो क्लब र सदस्यहरूबाट सङ्कलित आर्थिक सहयोग, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा अन्य अत्यावश्यक सामग्री प्रभावित परिवारसम्म पारदर्शी र प्रभावकारी ढंगले पुर्‍याइएको छ।

हालै रसुवा, नुवाकोट, सिन्धुपाल्चोकलगायतका क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण सयौं परिवार विस्थापित भएका छन्। यस्ता विपद्का बेला सामाजिक संस्थाहरूले मानवीय सेवामार्फत पीडित समुदायको घाउमा मलम लगाउने काम गरिरहेका छन्।

राहत सङ्कलनदेखि ढुवानी र वितरणसम्मको अभियानमा प्रथम तथा द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर, पूर्व डिस्ट्रिक्ट गभर्नर, विपद् व्यवस्थापन तथा राहत समितिका पदाधिकारी, क्लस्टर प्रमुख तथा विभिन्न तहका लायन्स नेतृत्वले सक्रिय भूमिका निर्वाह गरेका थिए।

डिस्ट्रिक्टले राहत अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण लायन्स र लियो सदस्यप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि समाजसेवा, मानवीय सहयोग र भाइचाराको अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।