
पोखरा, १८ भदौ । जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लामा सञ्चालनमा रहेका विकास आयोजनाका समस्या तथा अवरोध समाधानका लागि बिहीबार विकास समन्वय बैठक सम्पन्न गरेको छ।
बैठकमा बोल्दै जिसस कास्कीका प्रमुख लिलाधर पौडेलले निर्माणाधीन आयोजनाहरू समयमै सम्पन्न नहुँदा सर्वसाधारण सेवाग्राही प्रत्यक्ष रूपमा प्रभावित भइरहेको बताउनुभयो। उहाँले विकास आयोजनाहरूलाई निर्धारित समयमै सम्पन्न गर्न सम्बन्धित निकायहरूबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

प्रमुख पौडेलले पोखरा तथा कास्की क्षेत्रमा सञ्चालनमा रहेका विद्युत, सडक र विमानस्थलसँग सम्बन्धित विकास आयोजनाका क्रममा देखिएका विवाद तथा समस्याहरूलाई गम्भीरतापूर्वक लिएर तत्काल समाधानतर्फ लाग्न सरोकारवाला निकायलाई आग्रह गर्नुभयो। राष्ट्र निर्माणको अभियान सबै पक्षको सामूहिक प्रयासबाट मात्र सफल हुने उहाँको भनाइ थियो।

जिल्ला समन्वय अधिकारी नवराज बरालले विकास आयोजनासँग सम्बन्धित सरोकारवाला कार्यालयहरूबीच पर्याप्त समन्वय नभएको भन्दै जनगुनासो आएपछि बैठक आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले कानुनी प्रक्रिया र आवश्यक समन्वयमार्फत समस्या समाधान गर्नुको विकल्प नरहेको बताउनुभयो।
बैठकमा नागरिक उड्डयन प्राधिकरण पोखरा, अध्यागमन कार्यालय पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल विद्युत प्राधिकरण, पोखरा–भरतपुर विद्युत प्रणाली सुदृढीकरण आयोजना, पोखरा महानगरपालिका तथा पोखरा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको जिसस कास्कीका सूचना अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो।

जिसस कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न बैठकले विकास आयोजनामा देखिएका अवरोध हटाउन सम्बन्धित निकायबीच समन्वयलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ।










