रसुवा बाढीपीडितका लागि भण्डारी तमु समाजको एक लाख १७ हजार सहयोग

-


     हिडन खबर    
     भाद्र १८ गते २०८३ मा प्रकाशित


लेखनाथ, १७ भदौ । रसुवामा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले पोखरा महानगरपालिका–२९ स्थित भण्डारी तमु समाजले एक लाख १७ हजार ६ सय २५ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

समाजका सदस्य तथा पदाधिकारीहरूबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने समाजले जनाएको छ। बुधबार समाजको भवनमा आयोजित कार्यक्रममा उक्त सहयोग रकम सार्वजनिक गरिएको हो।

कार्यक्रममा समाजका अध्यक्ष अरुणकुमार गुरुङ, निवर्तमान अध्यक्ष ईश्वरबहादुर गुरुङ, उपाध्यक्ष भूपेन्द्र गुरुङ, सचिव कल्पना गुरुङ, सहसचिव विष्णुप्रसाद घले तथा अन्य सदस्यहरूको सहभागिता रहेको थियो।

अध्यक्ष गुरुङले बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को समयमा पीडितको साथमा उभिनु सबैको साझा जिम्मेवारी भएको बताए। उनले स्थानीय तह, संघसंस्था, निजी क्षेत्र र आम नागरिकलाई समेत विपद् प्रभावितहरूको सहयोगमा सक्रिय हुन आग्रह गरे।

समाजका सम्पूर्ण सदस्यहरूको सहभागितामा राहत रकम संकलन गरिएको उल्लेख गर्दै उनले सानो सहयोगले पनि पीडित परिवारलाई ठूलो राहत मिल्ने विश्वास व्यक्त गरे।

भण्डारी तमु समाजले आगामी दिनमा पनि टोल सरसफाइ, खेलकुद, सामाजिक तथा परोपकारी गतिविधिलाई निरन्तरता दिँदै समाजसेवाका कार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा समाजका पदाधिकारी, सदस्य तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।