९ घण्टाको कठिन यात्रा गर्दै बाढीपीडितसम्म पुग्यो लायन्स डिस्ट्रिक्ट ३२५ के नेपाल

-


     राजेशचन्द्र राजभण्डारी     
     भाद्र १८ गते २०८३ मा प्रकाशित


काठमाडौं, १८ भदौ भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–७, तुप्चे लगायतका क्षेत्रमा राहत सामग्री वितरण गर्न लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको टोली प्रभावित बस्तीमा पुगेको छ।

बाढीका कारण समस्यामा परेका परिवारहरूको पीडामा साथ दिन डिस्ट्रिक्टको टोली राहत सामग्रीसहित प्रभावित क्षेत्रमा पुगेको हो। क्षतिग्रस्त सडक, पहिरो र जोखिमपूर्ण बाटो पार गर्दै टोलीले करिब ९ घण्टाको कठिन यात्रा गरेर बाढीपीडित समुदायसम्म राहत पुर्‍याएको जनाएको छ।

डिस्ट्रिक्टका अनुसार राहत वितरण केवल सामग्री हस्तान्तरणमा सीमित नभई विपद्को घडीमा पीडित नागरिकसँग ऐक्यबद्धता जनाउने अभियान पनि हो। बाढीपीडितका घरदैलोमै पुगेर उनीहरूको दुःखमा साथ दिनु लायन्सको मूल भावना रहेको उल्लेख गरिएको छ।

“हामीले उपलब्ध गराएको राहत सामग्रीले सबै समस्या समाधान गर्न नसक्ला, तर पीडित परिवारलाई उनीहरू एक्ला छैनन् भन्ने अनुभूति दिलाउने विश्वास लिएका छौँ,” डिस्ट्रिक्टले जनाएको छ।

विपद्को समयमा मानवता नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै डिस्ट्रिक्टले राहत अभियान सफल बनाउन सहयोग गर्ने सम्पूर्ण लायन लिडर, लायन्स क्लब परिवार, रञ्जना ट्रेड सेन्टरका व्यवसायी, विभिन्न सहयोगी संस्था तथा प्रत्यक्ष रूपमा खटिएका स्वयंसेवकप्रति आभार व्यक्त गरेको छ।

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालले विपद्का बेला जहाँ दुःख र आवश्यकता हुन्छ, त्यहाँ सेवा लिएर पुग्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ। “हाम्रो यात्रा ९ घण्टाको थियो, तर सेवाको भावना अनन्त छ। जहाँ दुःख छ, त्यहाँ लायन्स पुग्छ,” डिस्ट्रिक्टले जारी गरेको सन्देशमा उल्लेख छ।