सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि महायज्ञ जारी, दुई दिनमै ८५ लाख संकलन

-


     हिडन खबर    
     भाद्र १९ गते २०८३ मा प्रकाशित


पोखरा, भदौ १९

पोखरा महानगरपालिका–५, प्रस्याङस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सन्तानेश्वर महादेव मन्दिरको पुनःनिर्माणका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ जारी रहेको छ। महायज्ञको दोस्रो दिन बिहीबारसम्म करिब ८५ लाख रुपैयाँ सहयोग रकम संकलन भएको आयोजकले जनाएको छ।

प्रस्याङ बगैंचा पार्क व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद पराजुलीका अनुसार सन्तानेश्वर महादेव मन्दिर संरक्षक परिवारका दाता सुरेशचन्द्र कोइराला, शान्तिकुमारी कोइराला, सूर्य कोइराला, लक्ष्मणप्रसाद कोइराला र सुवासचन्द्र कोइरालाले संयुक्त रूपमा ३५ लाख रुपैयाँ सहयोग प्रदान गरेका छन्।

त्यस्तै, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पराजुलीसहित श्रीराम पराजुली, शम्भु पराजुली, पुरुषोत्तम पराजुली र विश्वनाथ पराजुलीबाट १० लाख ६ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ।

समाजसेवी हेरम्बप्रसाद कोइराला तथा परिवारबाट ३
लाख १५ हजार रुपैयाँ, भरतराज पौडेलबाट २५ हजार ९ सय ९९ रुपैयाँ, सूर्यप्रसाद पराजुलीबाट २५ हजार ५ सय २५ रुपैयाँ तथा गजेन्द्र जैशवालबाट २५ हजार १ सय १ रुपैयाँ सहयोग प्राप्त भएको आयोजकले जनाएको छ।

यसैगरी मन्दिर व्यवस्थापन समिति, कार्यसमिति तथा शुभेच्छुकहरूबाट ३० लाख रुपैयाँ सहयोग प्राप्त भएको प्रचारप्रसार समिति संयोजक लक्ष्मण बरालले जानकारी दिए।

प्राकृतिक विपत्तिमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली, घाइते तथा बेपत्ताप्रति सम्मान र विश्व शान्तिको कामनासहित सञ्चालन गरिएको महायज्ञ भदौ २५ गतेसम्म जारी रहनेछ। श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर सुरु गरिएको महायज्ञमा संगीतमय श्रीमद्भागवत कथा प्रवचन, विभिन्न धार्मिक अनुष्ठान तथा देवलीलाहरू सञ्चालन भइरहेका छन्।महायज्ञका प्रमुख वाचक पण्डित दीपकप्रसाद पौडेल रहेका छन्।

महायज्ञबाट संकलित रकम मन्दिर पुनःनिर्माणमा खर्च गरिनेछ भने केही रकम बाढीपीडित राहत कोषमा समेत सहयोग गरिने आयोजकले जनाएको छ। धार्मिक आस्था, सामाजिक सद्भाव र सामुदायिक सहभागितालाई सुदृढ बनाउने उद्देश्यसहित सञ्चालन गरिएको महायज्ञमार्फत मन्दिरलाई कलात्मक र आकर्षक स्वरूपमा पुनःनिर्माण गर्ने लक्ष्य राखिएको छ।

आयोजकका अनुसार सन्तानेश्वर महादेव मन्दिरलाई चार ढोका र पञ्चमुखी शिवलिङ्गसहितको भव्य शिवालयका रूपमा निर्माण गरी धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिनेछ। प्राप्त सहयोग रकम पारदर्शी रूपमा सार्वजनिक गरिने तथा दाताहरूलाई योगदानअनुसार सम्मान गरिने व्यवस्था मिलाइएको छ।

धार्मिक मान्यताअनुसार सन्तानेश्वर महादेवलाई सन्तान प्राप्तिको वरदान प्रदान गर्ने देवताका रूपमा पूजा गरिन्छ। मन्दिरको गर्भगृहमा रहेको एउटै शिलाका तीन भागलाई सन्तानेश्वर महादेव, माता पार्वती र भगवान् गणेशका रूपमा पूजा गर्ने परम्परा रहेको छ। स्थानीय लिलाधर कोइरालाले करिब ९२ वर्षअघि स्थापना गरेको यो मन्दिर क्षेत्रको महत्वपूर्ण धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित छ।