
बागलुङ, १८ भदौ । निसीखोला व्यापार व्यवसायी संघले हालैको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ।
संघले बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै आफ्नो संस्थागत निर्णयअनुसार उक्त रकम कोषमा जम्मा गरेको जनाएको छ। संघका अध्यक्ष चेतराम पौडेल, उपाध्यक्ष खिम विक्रम गिरी, महासचिव शिव कार्की तथा कार्यसमिति सदस्यहरूको उपस्थितिमा बसेको बैठकले सहयोग गर्ने निर्णय गरेको थियो।
संघले विपद्को कठिन घडीमा सबै क्षेत्रबाट मानवीय सहयोग आवश्यक रहेको उल्लेख गर्दै सानो सहयोगले पनि पीडित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।
बाढी प्रभावित क्षेत्रमा राहत संकलन र सहयोग हस्तान्तरण अभियान जारी रहेका बेला निसीखोला व्यापार व्यवसायी संघको यो सहयोगलाई सामाजिक उत्तरदायित्वको उदाहरणीय कदमका रूपमा हेरिएको छ।










