
पोखरा, १८ भदौ । पद्म नर्सिङ होम प्रा.लि., नदिपुर–पोखराले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि रु. १ लाख ११ हजार १११ आर्थिक सहयोग गरेको छ।
नर्सिङ होमले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। संस्थाले सो बराबरको चेक नबिल बैंक लिमिटेडमा रहेको कोषको खातामा जम्मा गरेको हो।
गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्र प्रभावित भएका छन्। बाढीबाट ठूलो जनधनको क्षति भएको छ भने प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यहरू जारी छन्।
पद्म नर्सिङ होमका अध्यक्ष यादव गौतमले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुग्ने उद्देश्यले संस्थाको तर्फबाट आर्थिक सहयोग प्रदान गरिएको बताउनुभयो। विपद्को यस दुःखद घडीमा पीडित परिवारप्रति ऐक्यबद्धता र मानवीय संवेदना व्यक्त गर्दै सहयोग रकम राहत कोषमा जम्मा गरिएको उहाँले उल्लेख गर्नुभयो।
संस्थाका प्रबन्ध निर्देशक नरेन्द्र बास्तोलाले प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सानो भए पनि योगदान पुग्ने विश्वासका साथ सहयोग गरिएको बताउनुभयो। सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहँदै आगामी दिनमा पनि मानवीय सेवामा सक्रिय रहने उहाँको भनाइ छ।
पद्म नर्सिङ होमले बाढी तथा विपद्बाट प्रभावित परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै विपद्को समयमा सबै क्षेत्रबाट सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गरेको छ।











