अश्लील तस्बिर सार्वजनिक गर्ने धम्की दिएको आरोपमा एक जना पक्राउ

-


     हिडन खबर    
     भाद्र १६ गते २०८३ मा प्रकाशित


बागलुङ, भदौ १६ । सामाजिक सञ्जालमार्फत एक महिलाको अश्लील तस्बिर सार्वजनिक गरिदिने धम्की दिएको आरोपमा बागलुङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार पर्वतको जलजला गाउँपालिका–७ निवासी ४० वर्षीय वीरबहादुर सुनारलाई विद्युतीय अपराध सम्बन्धी कसुरमा नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको हो।

प्रहरीका अनुसार सुनारले पीडित महिलाको अश्लील तस्बिर जबरजस्ती खिची उक्त तस्बिर पीडितका आफन्तहरूलाई समेत फेसबुक तथा म्यासेन्जरलगायत सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेल गरेको आरोप लागेको छ। पीडितको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङले भदौ १६ गते सुनारलाई नियन्त्रणमा लिई विद्युतीय अपराध सम्बन्धी कसुर मुद्दामा अनुसन्धान सुरु गरेको हो। यस सम्बन्धमा बागलुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमको दुरुपयोग गरी कसैको गोपनीयता र मर्यादामाथि आघात पुग्ने गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। यस्ता गतिविधि कानुनविपरीत हुने भएकाले दोषीलाई प्रचलित कानुन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ।