
लेखनाथ, १७ भदौ
देशका विभिन्न स्थानमा बाढीपहिरोले ठूलो जनधनको क्षति भइरहेका बेला कास्कीका विद्यार्थीले आफ्नो खाजाका लागि छुट्याएको रकमसमेत बचाएर बाढीपीडितलाई सहयोग गरेका छन्।
नेपाल जुनियर रेडक्रस सर्कल, त्रिभुवन शान्ति माध्यमिक विद्यालय, कास्कीले भोटेकोशी नदीको बाढीबाट प्रभावित नागरिकको राहतका लागि २५ हजार ३ सय ३५ रुपैयाँ सहयोग गरेको हो।
विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।
सहयोग संकलन अभियान सर्कलका अध्यक्ष सुदीक्षा सुवेदी, उपाध्यक्ष प्रयोग न्यौपाने, सचिव अग्रिम कँडेल, कोषाध्यक्ष कुसुम न्यौपाने र सदस्य समिक्षा तिवारीको नेतृत्वमा सञ्चालन गरिएको थियो।
अभियानमा सर्कलका कार्यसमिति सदस्य, सहायक शिक्षक नायक प्रतिमा अधिकारी, निर्मला सापकोटा तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।
विद्यार्थीहरूले आफ्ना लागि छुट्याएको खाजाको रकमसमेत स्वेच्छाले बाढीपीडितको सहयोगका लागि प्रदान गरेको शिक्षिका नायक सुकेशा सोतीले बताइन्।
विद्यालयकी प्रधानाध्यापक सोमकुमारी लामिछानेले देश नै विपत्तिमा परेका बेला पीडित नागरिकको दुःख पूर्ण रूपमा कम गर्न नसके पनि आफ्नो क्षमताअनुसार सहयोग गरेर घाउमा मलम लगाउने प्रयास गरिएको बताइन्।
उनका अनुसार सानो रकम भए पनि विद्यार्थी, शिक्षक र विद्यालय परिवारको सामूहिक प्रयासबाट संकलन गरी राहत कोषमा जम्मा गरिएको हो।
प्रधानाध्यापक लामिछानेले यस्ता अभियानले विद्यार्थीमा सहयोग, सहानुभूति, सामाजिक उत्तरदायित्व र मानवताको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।
विद्यार्थीले आफ्नो खाजाको रकमसमेत कटौती गरेर विपद्मा परेका नागरिकका लागि सहयोग गर्नुले बालबालिकामा सामाजिक उत्तरदायित्व र मानवीय संवेदना विकास हुँदै गएको सन्देश दिएको छ।










