
कास्की, भदौ १६ । देशका विभिन्न जिल्लामा हालै आएको विनाशकारी बाढी तथा पहिरोले ठूलो मानवीय र भौतिक क्षति पुर्याइरहेका बेला पोखराका साना बालबालिकाले मानवीय संवेदनाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्।
पोखरा महानगरपालिका–२७, तालचोकस्थित लिटल गार्डेन स्कुलमा अध्ययनरत नानीबाबुहरूले बाढीपीडित परिवारहरूको सहयोगार्थ २४ हजार ७ सय ४० रुपैयाँ संकलन गरी राहत कोषमा सहयोग गरेका हुन्।
कलिला हातबाट जुटाइएको यो रकम आकारमा सानो देखिए पनि यसको मानवीय महत्व निकै ठूलो छ। विपद्को पीडामा रहेका परिवारहरूका लागि यसले सहयोग मात्र नभई आशा, आत्मबल र साथको अनुभूति दिलाउने विश्वास गरिएको छ।
बालबालिकामा सानैदेखि मानवता, सहयोग, सहानुभूति र सामाजिक उत्तरदायित्वको भावना विकास हुनुपर्छ भन्ने सन्देश यस कार्यले दिएको छ। देश कठिन परिस्थितिबाट गुज्रिरहेको बेला लिटल गार्डेन स्कुलका विद्यार्थीहरूले देखाएको यो उदाहरण अन्य बालबालिकाका लागि पनि प्रेरणादायी बनेको छ।
विद्यालय प्रशासनले विद्यार्थीहरूको मानवीय भावनाको प्रशंसा गर्दै सहयोग अभियानमा साथ दिने अभिभावकप्रति समेत आभार व्यक्त गरेको छ।
विपद्को घडीमा उमेरले होइन, मनले ठूलो बन्न सकिन्छ भन्ने सन्देश यी साना नानीबाबुहरूको सहयोगले पुनः प्रमाणित गरेको छ। बाढीपीडितप्रति देखाएको उनीहरूको संवेदनशीलता र सहयोगी भावना समाजका लागि अनुकरणीय बनेको छ।









