
लेखनाथ, १७ भदौ ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाका नागरिकलाई सहयोग गर्ने उद्देश्यले लेखनाथ उद्योग वाणिज्य सङ्घले राहत सङ्कलन अभियान सुरु गरेको छ।
गत भदौ १० गते आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सङ्घले प्रभावित परिवारको सहयोगका लागि राहत सङ्कलन अभियान अघि बढाएको हो।
सङ्घकी अध्यक्ष जानुका पराजुली अधिकारीले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्। उनले बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताइन्।
“समग्र नेपालीको छाती चर्किएको छ, मन रोएको छ,” अध्यक्ष पराजुलीले भनिन्, “यो दुःखको घडीमा प्रभावित नागरिकको साथमा उभिनु सबैको दायित्व हो।”
सङ्घले यसअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई लाख रुपैयाँ सहयोग गरिसकेको जनाएको छ। त्यसपछि प्रभावितका लागि आवश्यक राहत सामग्री जुटाउन अभियान सञ्चालन गरिएको हो।
राहत सङ्कलन अभियानको संयोजन सङ्घका द्वितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराईले गर्नेछन्। उनले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को यस घडीमा सरकार तथा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताए।
उनले स्थानीय तह, सङ्घसंस्था, निजी क्षेत्र तथा आम नागरिकलाई राहत अभियानमा सहभागी हुन आग्रहसमेत गरेका छन्।
सङ्घले अभियानअन्तर्गत चामल, चिउरा, दाल, तेल, लत्ताकपडा, कम्बल तथा न्यानो कपडा, पिउने पानी, स्यानिटरी तथा सरसफाइ सामग्री, भाँडाकुँडालगायतका जिन्सी सामग्री सङ्कलन गर्ने जनाएको छ।
इच्छुक व्यक्ति तथा संस्थाले पोखरा महानगरपालिका–२९, भण्डारढिकस्थित लेखनाथ उद्योग वाणिज्य सङ्घको सचिवालयमा राहत सामग्री बुझाउन सक्नेछन्।
सङ्घका अनुसार सङ्कलन हुने प्रत्येक सामग्री तथा रकमको व्यवस्थित अभिलेख राखी सार्वजनिक गरिनेछ। सङ्कलित राहत नेपाल उद्योग वाणिज्य महासङ्घमार्फत पारदर्शी ढङ्गले सम्बन्धित प्रभावितसम्म पुर्याइने सङ्घले जनाएको छ।
अध्यक्ष पराजुलीले विपद्मा परेका नागरिकको पीडामा मलम लगाउन सबै नेपालीलाई राहत अभियानमा सहभागी हुन अपिल गरेकी छन्।










