
काठमाडौं, भदौ १७
देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत र पुनःस्थापनाका लागि विभिन्न संघ–संस्थाले सहयोग अभियानलाई तीव्र बनाइरहेका बेला रोटरी क्लबहरू पनि मानवीय सेवामा सक्रिय बनेका छन्।

रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतको रोटरी क्लब अफ महाराजगञ्जले बाढीपीडितको सहयोगार्थ संकलन गरेको १ लाख ७५ हजार रुपैयाँ डिस्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्की मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न राेटरी क्लब अफ महाराजगन्जका चार्टर प्रिसिडेन्ट डाक्टर जयबहादुर टन्डनले हस्तान्तरण गरेका थिए ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा क्लबका अध्यक्ष निर्मल सापकोटाले विपद्को कठिन घडीमा पीडित नागरिकहरूको साथमा उभिनु सबैको सामाजिक दायित्व भएको उल्लेख गर्दै रोटरीले आगामी दिनमा पनि सहयोग अभियानलाई निरन्तरता दिने बताए।

कार्यक्रममा रोटरी क्लब अफ काठमाडौं डाउनटाउनकी अध्यक्ष सीता पौडेलले विपद्का बेला मानवीय एकता र सहकार्यको आवश्यकता झन् बढ्ने बताउँदै सबैलाई सहयोग अभियानमा जोडिन आग्रह गरिन्।
डिस्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्कीका अनुसार रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गत नेपालका १६३ र भुटानका २ गरी १६५ वटा क्लब आबद्ध छन्। डिस्ट्रिक्टले रसुवा, त्रिशूली लगायत बाढीबाट प्रभावित क्षेत्रका नागरिकहरूको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा हालसम्म १० लाख रुपैयाँ सहयोग प्रदान गरिसकेको छ।

सामाजिक सेवा, शिक्षा, स्वास्थ्य तथा मानवीय सहायता क्षेत्रमा क्रियाशील रोटरीका क्लबहरूले आफ्नो क्षमताअनुसार राहत रकम संकलन गरी प्रधानमन्त्री राहत कोषमा उपलब्ध गराउने अभियान जारी राखेका छन्।
विपद्को यो कठिन समयमा सरकारी प्रयाससँगै सामाजिक संघ–संस्था, निजी क्षेत्र र सर्वसाधारणको सहयोगले पीडित नागरिकलाई राहत पुर्याउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। यस्तो मानवीय पहलले समाजमा सहयोग, सद्भाव र उत्तरदायित्वको सन्देश प्रवाह गरेको छ।










