आदर्श युवा क्लबको मानवीय पहल : रसुवा बाढीपीडितका लागि ४ लाख रुपैयाँ राहत

-


     हिड्न खबरदाता     
     भाद्र १६ गते २०८३ मा प्रकाशित


लेखनाथ, १६ भदौ । रसुवामा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पोखरा महानगरपालिका–२९ स्थित आदर्श युवा क्लबले ४ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

क्लबले सञ्चालन गर्दै आएको आदर्श कप प्रतियोगिताबाट बचत भएको रकममध्ये ४ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

मंगलबार आयोजित सहयोग घोषणा कार्यक्रममा क्लबका अध्यक्ष पदम गुरुङले वडा सदस्य निर्मला पौडेलको रोहबरमा उक्त रकम हस्तान्तरण गर्ने घोषणा गरेका थिए।

क्लबले विगतमा तीज पर्वका अवसरमा दर खाने तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आए पनि यस वर्ष बाढीपीडितको राहतका लागि रकम खर्च गर्ने निर्णय गरिएको अध्यक्ष गुरुङले जानकारी दिए। खेलकुद गतिविधिसँगै सामाजिक उत्तरदायित्व र परोपकारी कार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि क्लबले जनाएको छ।

कार्यक्रममा वडा सदस्य निर्मला पौडेलले बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को यस कठिन घडीमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताइन्। उनले स्थानीय तह, सामाजिक संघसंस्था, निजी क्षेत्र तथा आम नागरिकलाई समेत राहत तथा पुनःस्थापनामा सहयोग गर्न आग्रह गरिन्।

लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले देश विपद्को सामना गरिरहेको अवस्थामा आदर्श युवा क्लबले राहत सहयोग गर्ने निर्णय गरेकोमा धन्यवाद व्यक्त गरिन्। सामाजिक संघसंस्थाको सहकार्य र सहयोगले पीडितलाई ठूलो राहत पुग्ने उनको भनाइ थियो।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य छत्रधर आत्रेयले बाढीपहिरोजस्ता विपद्का घटनामा प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए। विपद्को समयमा मानवीय सहयोग नै सबैभन्दा महत्वपूर्ण हुने उल्लेख गर्दै उनले क्लबको पहलको प्रशंसा गरे।

कार्यक्रममा क्लबका सल्लाहकार चेतबहादुर गुरुङ, पूर्वअध्यक्ष विजय गुरुङ, विभिन्न टोल विकास संस्था, आमा समूह तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन क्लबका सचिव सन्तोष गुरुङले गरेका थिए।