कृष्णभीरमा बाढीको कटानपछि काठमाडौं–मुग्लिन सडक पूर्ण अवरुद्ध, यात्रु अलपत्र

-


     हिडन खबर    
     भाद्र १४ गते २०८३ मा प्रकाशित


काठमाडौं, भदौ १४ । त्रिशूली नदीमा आएको बाढीले धादिङको कृष्णभीर क्षेत्रमा सडक कटान गरेपछि देशको प्रमुख राजमार्ग काठमाडौं–मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।

भोटेकोशी क्षेत्रबाट आएको बाढीका कारण त्रिशूली नदीको बहाव बढेपछि कृष्णभीर नजिक सडकको तल्लो भाग कटान भएको हो। कटानका कारण सडकको केही भाग भासिएपछि यातायात सञ्चालन पूर्ण रूपमा रोकिएको छ।

धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)का अनुसार बाढीले सडकको आधार भाग कटान गरेपछि सडक असुरक्षित बनेको र थप क्षति हुन सक्ने जोखिमका कारण यातायात बन्द गरिएको हो।

यसअघि आज बिहान केही समय अवरुद्ध भएको सडक एकपटक सञ्चालनमा आए पनि नदीको बहाव बढ्दै गएपछि पुनः पूर्ण रूपमा बन्द गरिएको हो।

सडक अवरुद्ध भएपछि काठमाडौं भित्रिने तथा बाहिरिने सवारीसाधन रोकिएका छन् भने सयौं यात्रु बाटोमै अलपत्र परेका छन्। सम्बन्धित निकायले सडकको अवस्था मूल्यांकन तथा मर्मत कार्यको तयारी गरिरहेको जनाएको छ।

प्रशासनले अत्यावश्यक कामबाहेक उक्त सडकखण्ड प्रयोग नगर्न तथा वैकल्पिक मार्गको प्रयोग गर्न यात्रुलाई आग्रह गरेको छ।