आफ्नै क्षति बिर्सेर भोटेकोशी बाढीपीडितको सहायतामा रन्जना ट्रेड सेन्टरका व्यवसायी

-


     हिडन खबर    
     भाद्र १४ गते २०८३ मा प्रकाशित


काठमाडौं, भदौ १४

रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोले ठूलो मानवीय र भौतिक क्षति पुर्‍याइरहेका बेला काठमाडौंको रन्जना ट्रेड सेन्टरका व्यवसायीहरूले आफ्नै पीडा बिर्सेर बाढीपीडितको सहयोगमा उदाहरणीय मानवीयता देखाएका छन्।

व्यवसायीहरूले आफूहरू पनि आर्थिक रूपमा प्रभावित रहेको उल्लेख गर्दै विपद्को यस घडीमा धनभन्दा जनताको जीवन रक्षा र राहतलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन्। उनीहरूका अनुसार लाखौं रुपैयाँ बराबरको सामान तथा व्यापारिक क्षति व्यहोरे पनि विपद्मा परेका नागरिकको दुःखमा साथ दिनु सामाजिक दायित्व भएको महसुस गर्दै सहयोग अभियानमा जुटेका हुन्।

रन्जना ट्रेड सेन्टरका व्यवसायीहरूले नगद तथा जिन्सी राहत सामग्री संकलन गरी बाढी प्रभावित क्षेत्रका पीडितलाई उपलब्ध गराउने अभियान सञ्चालन गरेका छन्। रन्जना व्यापार संघले पछिल्ला तीन दिनदेखि निरन्तर रूपमा सबैभन्दा बढी प्रभावित क्षेत्रहरूको पहिचान गर्दै राहत सामग्री पठाउने कार्यलाई तीव्रता दिएको जनाएको छ।

संघले लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालमार्फत समेत लत्ताकपडा, खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराएको जनाएको छ। राहत अभियानलाई थप प्रभावकारी बनाउन विभिन्न संघसंस्था र सर्वसाधारणसँग पनि सहकार्य भइरहेको बताइएको छ।

व्यवसायीहरूले विपद्को समयमा राज्य, निजी क्षेत्र र नागरिक समाजबीचको सहकार्य अझ बलियो हुनुपर्नेमा जोड दिएका छन्। “व्यापारी राज्यको मेरुदण्ड हुन्, संकटका बेला व्यवसायीहरू सधैं राष्ट्र र नागरिकको साथमा उभिन्छन्,” उनीहरूको भनाइ छ।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा अझै पनि राहत तथा पुनःस्थापनाको आवश्यकता रहेकाले सहयोगको खाँचो भएका क्षेत्रको जानकारी भए सम्पर्क गर्न रन्जना व्यापार संघले आग्रह गरेको छ।

देश विपद्को पीडामा रहेका बेला आफ्नै क्षति र कठिनाइलाई पछाडि पारेर पीडितको सहयोगमा जुटेका रन्जना ट्रेड सेन्टरका व्यवसायीहरूको यो पहलले सामाजिक उत्तरदायित्व र मानवीय एकताको सशक्त सन्देश दिएको छ।