
म्याग्दी, भदौ १४
प्राकृतिक विपत्तिले देश आक्रान्त बनेको बेला म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरस्थित चेतनशील आमा समूहले मानवताको उदाहरण प्रस्तुत गरेको छ। समूहले तीज पर्वका अवसरमा दर खाने कार्यक्रमका लागि छुट्याएको ३८ हजार रुपैयाँ रसुवा, नुवाकोट लगायतका क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहतका लागि सहयोग गरेको हो।
भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि समूहले मनोरञ्जन र उत्सवभन्दा पीडितको दुःखमा साथ दिनु ठूलो धर्म भएको निष्कर्षसहित सहयोग रकम उपलब्ध गराएको जनाएको छ।
समूहले विपत्तिमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।
तीज पर्वलाई केवल रमाइलो र भोजभतेरको रूपमा नभई सामाजिक उत्तरदायित्वसँग जोड्न सकिने सन्देश रत्नेचौर चेतनशील आमा समूहले दिएको स्थानीयवासीको भनाइ छ। देश संकटमा परेका बेला पर्वका लागि छुट्याइएको रकम विपद् प्रभावितको राहतमा खर्च गर्ने निर्णयलाई धेरैले प्रशंसनीय र अनुकरणीय कार्यका रूपमा लिएका छन्।
पछिल्लो समय देशभरका विभिन्न महिला समूह, आमा समूह तथा सामाजिक संघसंस्थाहरूले तीजका कार्यक्रमलाई मितव्ययी बनाउँदै विपद् पीडित, असहाय र आवश्यकतामा परेकाहरूको सहयोगमा रकम परिचालन गर्न थालेका छन्। रत्नेचौर चेतनशील आमा समूहको यो पहलले पर्वको वास्तविक सार मानवीय सेवा र सामाजिक एकता रहेको सन्देश प्रवाह गरेको छ।











