
देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि समाजसेवी एवं सामाजिक अभियन्ता प्रकाश दीप गैरे र सुशीला कट्टेल गैरेले १० लाख १ हजार १ सय रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्।
सच्चाई केन्द्र नेपालका प्रमुख तथा आकांक्षा टुर्स एण्ड ट्राभल्स पोखरा प्रालिका प्रबन्ध निर्देशक प्रकाश दीप गैरे र सच्चाई केन्द्र नेपालकी उपप्रमुख सुशीला कट्टेल गैरेले विपद्पीडित नागरिकको सहयोगार्थ उक्त रकम उपलब्ध गराएका हुन्।
गैरे दम्पतीले व्यक्तिगत, पारिवारिक तथा व्यावसायिक क्षेत्रको तर्फबाट विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै मानवीय सहयोगस्वरूप रकम प्रदान गरेको जनाएका छन्। प्राकृतिक विपत्तिका कारण हजारौं नागरिक प्रभावित भइरहेका बेला गरिएको यो सहयोगले राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।
‘विपद्को समयमा सहयोग नै सबैभन्दा ठूलो मानवता हो’ भन्ने भावनाका साथ गरिएको गैरे दम्पतीको सहयोगले समाजमा मानवीयता, सामाजिक उत्तरदायित्व र सहकार्यको सकारात्मक सन्देश प्रवाह गरेको छ।
व्यवसायसँगै सामाजिक सेवामा सक्रिय गैरे दम्पतीले विगतदेखि नै विभिन्न सामाजिक तथा मानवीय अभियानमा योगदान गर्दै आएका छन्। विपत्तिको कठिन घडीमा १० लाखभन्दा बढी रकम सहयोग गरेर उनीहरूले समाजप्रतिको उत्तरदायित्व र मानवीय संवेदनशीलताको उदाहरण प्रस्तुत गरेका छन्।
स्थानीय समाजसेवीहरूले समेत गैरे दम्पतीको सहयोगलाई अनुकरणीय कार्यको रूपमा प्रशंसा गर्दै विपद्को समयमा सक्षम व्यक्ति, संघसंस्था र व्यवसायीहरूलाई समेत सहयोगका लागि अग्रसर हुन आग्रह गरेका छन्।











