विपत्तिको घडीमा बागलुङका लायन्स एकजुट, बाढीपीडितलाई करिब ४ लाख सहयोग

-


     हिडन खबर    
     भाद्र १३ गते २०८३ मा प्रकाशित


बागलुङ, भदौ १३

बागलुङमा क्रियाशील लायन्स क्लबहरूले रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले ३ लाख ९० हजार ५ सय ७९ रुपैयाँ आर्थिक सहयोग संकलन गरेका छन्।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गत बागलुङ जिल्लामा रहेका १५ वटा लायन्स क्लबका सदस्यहरूले स्वस्फूर्त रूपमा रकम संकलन गरी बाढीपीडितका लागि जिल्ला हुँदै केन्द्रमा पठाएका हुन्।

लायन्सका जोन चेयरपर्सन गणेश महतोका अनुसार संकलित रकम लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालमार्फत प्रभावित क्षेत्रमा राहत सामग्री तथा आवश्यक सहयोगका लागि परिचालन गरिनेछ।

महतोका अनुसार लायन्स क्लब अफ धौलागिरि बागलुङले ६९ हजार ५ सय ५५ रुपैयाँ, लायन्स क्लब अफ बागलुङ सिटीले ५१ हजार २ सय ६ रुपैयाँ, लायन्स क्लब अफ बागलुङ मुक्तिनाथले ४५ हजार ७० रुपैयाँ, लायन्स क्लब अफ निसीखोलाले ३३ हजार ३ सय ३३ रुपैयाँ, लायन्स क्लब अफ बागलुङ सालिग्रामले ३२ हजार ३ सय ३५ रुपैयाँ तथा लायन्स क्लब अफ बागलुङले ३२ हजार रुपैयाँ सहयोग गरेका छन्।

त्यसैगरी, लायन्स क्लब अफ तमानखोला सोलेले २० हजार रुपैयाँ, लायन्स क्लब अफ बागलुङ कालीगण्डकीले १९ हजार रुपैयाँ, लायन्स क्लब अफ बुर्तिवाङ बागलुङले १७ हजार रुपैयाँ, लायन्स क्लब अफ ढोरपाटन बागलुङले १६ हजार रुपैयाँ, लायन्स क्लब अफ बागलुङ सिटिजनले १५ हजार ५ सय ३० रुपैयाँ, लायन्स क्लब अफ बागलुङ आवाजले १३ हजार ५ सय रुपैयाँ, लायन्स क्लब अफ बागलुङ भिजनले १० हजार ५० रुपैयाँ, लायन्स क्लब अफ बागलुङ ब्यूसीपले १० हजार रुपैयाँ र लायन्स क्लब अफ बागलुङ युनियनले ६ हजार रुपैयाँ सहयोग गरेका छन्।

प्राकृतिक विपत्तिको कठिन घडीमा बागलुङका लायन्स क्लबहरूले देखाएको एकता, सामाजिक उत्तरदायित्व र मानवीय संवेदनशीलताले विपद्पीडित नागरिकलाई राहत पुग्नुका साथै अन्य संघसंस्थालाई समेत सहयोगका लागि प्रेरित गर्ने अपेक्षा गरिएको छ।