
काठमाडौं, भदौ १२ । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्च (फाेरम फर हेल्थ एण्ड टेक्निकल साइन्स ) ले गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
मञ्चको केन्द्रीय समितिद्वारा जारी प्रेस विज्ञप्तिमा बाढीका कारण ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरिएको छ।
साथै, बाढीबाट प्रभावित नागरिकहरूले भोगिरहेको पीडा र मानसिक आघातबाट छिट्टै मुक्त हुन सकून् भन्ने शुभेच्छा व्यक्त गरिएको छ।
विज्ञप्तिमा विपत्तिपछि सञ्चालन भइरहेको उद्धार, राहत तथा पुनर्स्थापना अभियानमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, सामाजिक संघसंस्था, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरिएको छ। कठिन परिस्थितिमा देखिएको मानवीय संवेदना, एकता र सहकार्यको भावनाले नेपाली समाजको मानवीय चरित्रलाई थप उजागर गरेको मञ्चको भनाइ छ।
मञ्चले आफ्ना सदस्य संस्था, लगानीकर्ता, शिक्षक, कर्मचारी, विद्यार्थी तथा आम नागरिकलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार राहत, उद्धार र पुनर्निर्माण अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ। विपद्को घडीमा सरकार र सम्बन्धित निकायलाई सहयोग गर्दै प्रभावित नागरिकको जीवन पुनः सामान्य बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा मञ्चले जोड दिएको छ।
मञ्चले विपद्का बेला एकता, सेवा, समर्पण र पुनर्निर्माणमा सहकार्य गर्नु नै सम्पूर्ण नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि सबैलाई हातेमालो गर्न आह्वान गरेको छ।
विपत्तिमा देखिएको मानवीय एकता र सहयोगको भावना नै समाजको सबैभन्दा ठूलो शक्ति हो। पीडितको साथमा उभिनु केवल कर्तव्य मात्र होइन, मानवीय धर्म पनि हो।










