
काठमाडौं, भदौ १२ । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि लायन्स मल्टिपल डिष्ट्रिक्ट नेपालको आह्वानमा सञ्चालन गरिएको सहयोग अभियानअन्तर्गत पहिलो चरणको सहयोग रकम हस्तान्तरण गरिएको छ।
मल्टिपल डिष्ट्रिक्ट तथा नेपालभरका १५ वटै लायन्स डिष्ट्रिक्टको संयुक्त सहकार्यमा बाढीपीडितका लागि एक करोड रुपैयाँ सहयोग संकलन गर्ने निर्णयअनुसार डिष्ट्रिक्ट ३२५ एम, नेपालले आफ्नो पहिलो चरणको दायित्वस्वरूप ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको हो।
उक्त रकम डिष्ट्रिक्ट ३२५ एम, नेपालको तर्फबाट मल्टिपल काउन्सिल चेयरपर्सन लायन केशरबहादुर भण्डारीलाई औपचारिक रूपमा प्रदान गरिएको जनाइएको छ।
प्राकृतिक विपत्तिका कारण कठिन परिस्थितिमा रहेका बाढीपीडितहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा लायन्सकर्मीहरूको सक्रिय सहभागिता रहेको छ। सहयोग संकलन अभियान अझै जारी रहेको र प्रभावित समुदायसम्म आवश्यक राहत सामग्री तथा आर्थिक सहयोग पुर्याइने बताइएको छ।
डिष्ट्रिक्ट ३२५ एम, नेपालले यस मानवीय अभियानमा सहयोग गर्ने सम्पूर्ण लायन्स सदस्य, क्लब तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै विपत्तिको समयमा देखिएको एकता, सहकार्य र सामाजिक उत्तरदायित्वको भावनाले पीडितहरूलाई ठूलो राहत मिल्ने विश्वास व्यक्त गरेको छ।
“विपत्तिको घडीमा मानवीय सहयोग नै सबैभन्दा ठूलो सेवा हो” भन्ने सन्देशका साथ लायन्सकर्मीहरू बाढीपीडितको साथमा निरन्तर उभिएको जनाइएको छ।










