बाढीपीडितको उद्धार र राहतमा जुट्न लायन्स इन्टरनेशनल डाइरेक्टर राजन लम्सालको आह्वान

-


     हिडन खबर    
     भाद्र १० गते २०८३ मा प्रकाशित


काठमाडौं, भदौ १० — चीनको तिब्बत क्षेत्रबाट आएको बाढीका कारण रसुवाको टिमुरे बजार क्षेत्रमा ठूलो क्षति पुगेपछि लायन्स क्लब्स इन्टरनेशनलका अन्तर्राष्ट्रिय निर्देशक राजन लम्सालले उच्च सतर्कता अपनाउन तथा राहत र उद्धार कार्यमा सक्रिय रूपमा जुट्न आह्वान गरेका छन्।

लम्सालले आज जारी गरेको अपिलमार्फत त्रिशूली नदी तटीय क्षेत्रका सम्पूर्ण बासिन्दालाई सुरक्षित स्थानमा बस्न र सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गरेका छन्। उनले प्राकृतिक विपद्का बेला मानवीय सेवा र सहकार्यलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरेका छन्।

अपिलमा नेपालभरका १५ वटा लायन्स डिस्ट्रिक्टअन्तर्गतका क्लबहरूलाई सम्भावित विपद् व्यवस्थापन, उद्धार तथा राहत सामग्री वितरणका लागि तयारी अवस्थामा रहन निर्देशनसमेत दिइएको छ। प्रभावित क्षेत्रमा आवश्यक सहयोग पुर्‍याउन लायन्सका स्वयंसेवक र क्लबहरूलाई परिचालन गरिने जनाइएको छ।

अन्तर्राष्ट्रिय निर्देशक लम्सालले लायन्स क्लब्स इन्टरनेशनल फाउन्डेसन (एलसीआईएफ) मार्फत प्राप्त हुन सक्ने आपत्कालीन सहयोगको उपयोग गर्दै प्रभावित क्षेत्रका नागरिकलाई तत्काल राहत तथा पुनःस्थापनामा सहयोग गर्न आवश्यक पहल गरिने बताएका छन्।

उनले विपद्को यस कठिन घडीमा सबैलाई धैर्य, एकता र सहकार्यका साथ अघि बढ्न आग्रह गर्दै आवश्यक सहयोगमा जुट्न सम्पूर्ण लायन्स परिवार तथा सरोकारवालालाई अनुरोध गरेका छन्।

प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि राज्यका निकायसँग समन्वय गर्दै मानवीय सेवामा सक्रिय रहने प्रतिबद्धता पनि लायन्स नेतृत्वले जनाएको छ।