
कास्की, भदौ १० — “हामी सेवा गर्छौं” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका क्लबहरूले सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिएका छन्।

यसैक्रममा, लायन्स क्लब अफ पोखरा समृद्धि ले संस्थापक सदस्य ममता गुरुङको जन्मदिनको अवसरमा मानवीय सेवा कार्यक्रम सम्पन्न गरेको छ। क्लबले पोखरा–११, फुलबारी निवासी विजय भट्टराईलाई नगद रकम तथा खाद्यान्न सामग्री सहयोग गरेको हो।

भट्टराई विगत १५ वर्षदेखि मोटरसाइकल दुर्घटनापछि उपचाररत रहँदै आउनुभएको छ। पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले उपचारमा कठिनाइ भइरहेको जानकारी पाएपछि क्लबले सहयोग प्रदान गरेको जनाएको छ।
कार्यक्रममा बोल्दै संस्थापक सदस्य ममता गुरुङले उपचारमा संघर्षरत भट्टराईलाई थोरै भए पनि राहत पुग्ने विश्वास व्यक्त गर्दै सहयोगी सम्पूर्ण हातहरूप्रति आभार व्यक्त गर्नुभयो।

मानवीय अभियानमा डिस्ट्रिक्ट क्लस्टर चिफ भीमप्रसाद सुवेदी, जीएसटी कोअर्डिनेटर राधिका थापा, पूर्वअध्यक्ष कुश्मा राना, डिस्ट्रिक्ट एड्भाइजर शान्ति श्रेष्ठ, रिजन चेयरपर्सन हिमानसिंह गुरुङ, निवर्तमान अध्यक्ष सन्ध्या लिगल (बानियाँ), प्रथम उपाध्यक्ष मधु गुरुङ,वि ‘पोखरा’ संस्थाका सदस्यहरू तथा समृद्धि परिवारका लायन्स सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

क्लबले जन्मदिन जस्ता व्यक्तिगत अवसरलाई समेत सामाजिक सेवासँग जोड्दै समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।










