
बागलुङ, भदौ ९
“जहाँ दुख्छ, त्यहाँ पुग्छ लायन्स क्लब अफ निसिखोला” भन्ने नारालाई आत्मसात् गर्दै सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ निसिखोलाले दुःखमा परेका एक परिवारलाई मानवीय सहयोग प्रदान गरेको छ।
केही दिनअघि निसिखोला गाउँपालिका–३ धाराखर्कस्थित मिना सुनारले बोहोरागाउँ स्वास्थ्य चौकीमा सामान्य प्रसूति (नर्मल डेलिभरी) गरेकी थिइन्। प्रसूति पश्चात् स्वास्थ्यमा जटिलता देखिएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखरा लैजाने क्रममा बाटोमै उनको निधन भएको थियो। उक्त घटनापछि नवजात शिशुले जन्मिने बित्तिकै आमाको माया गुमाउनुपरेको थियो।
परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको जानकारी पाएपछि लायन्स क्लब अफ निसिखोलाको टोली पीडित परिवारको घरमै पुगेर राहत सामग्री हस्तान्तरण गरेको हो। क्लबले नगद सहयोग, नवजात शिशुको पोषणका लागि ल्याक्टोजेन, प्याम्पर्स, ब्ल्याङ्केट तथा बालबालिकाका लागि आवश्यक कपडालगायत करिब १७ हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरेको जनाएको छ।
क्लबका पदाधिकारीहरूले दुःखद घडीमा पीडित परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गर्दै नवजात बालिकाको सुस्वास्थ्य, उज्ज्वल भविष्य र दीर्घायुको कामना गरेका छन्।
सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै लायन्स क्लब अफ निसिखोलाले आवश्यकता परेका समुदाय र नागरिकको सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ।











