महिला उद्यमीका लागि कानुनी सचेतना आवश्यक : मन्त्री गुरुङ

-


     हिडन खबर    
     भाद्र ८ गते २०८३ मा प्रकाशित


लेखनाथ, भदौ ८ — गण्डकी प्रदेशकी सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले आर्थिक सशक्तीकरण र कानुनी सचेतना एकअर्काका परिपूरक भएको बताएकी छन्।

लेखनाथ उद्योग वाणिज्य संघद्वारा सोमबार आयोजित आमा समूह तथा महिला उद्यमी लक्षित कानुनी सचेतना कार्यक्रममा बोल्दै मन्त्री गुरुङले महिलाले आफ्नो अधिकार, दायित्व र कानुनी प्रक्रियाबारे जानकारी राखे व्यवसाय सुरक्षित र प्रतिस्पर्धी बन्ने बताइन्।

उनले संविधानले प्रत्याभूत गरेको समानता र न्यायको अधिकार महिलाहरू कानुनी रूपमा सचेत भएपछि मात्र व्यवहारमा स्थापित हुने उल्लेख गरिन्। महिला नेतृत्व र शिक्षाले समग्र समाजलाई सभ्य र समृद्ध बनाउने भन्दै उनले महिला सशक्तीकरणका कार्यक्रम प्रदेशभर सञ्चालन भइरहेको जानकारी दिइन्।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता वरिष्ठ अधिवक्ता चिरञ्जीवी शर्माले आर्थिक पारदर्शिता, लैंगिक समानता, घरेलु हिंसा, उद्यमशीलता र महिलाको अधिकारसम्बन्धी विषयमा प्रशिक्षण दिएका थिए।
संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले महिला सशक्तीकरण र आर्थिक स्वावलम्बनका लागि कानुनी ज्ञान अपरिहार्य रहेको बताइन्। कार्यक्रम संघकी अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो।