
काठमाडौं, भदौ ८
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालद्वारा नेतृत्व विकास कार्यक्रमअन्तर्गत आयोजित नयाँ सदस्य अभिमुखीकरण कार्यक्रम काठमाडौंस्थित स्काई रेष्ट्रो एण्ड ब्याङ्क्वेटमा सम्पन्न भएको छ।

कार्यक्रमको मुख्य उद्देश्य लायन्स लिडरहरूलाइ लायन्स आन्दोलनको इतिहास, उद्देश्य, सामाजिक सेवाको महत्त्व, नेतृत्व विकास तथा समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानबारे जानकारी गराउनु रहेको थियो। अभिमुखीकरणमार्फत लायन्स सदस्यहरूले समाजका आवश्यकता पहिचान गरी शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन, भोकमरी न्यूनीकरण तथा मानवीय सेवाका क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने विषयमा विशेष जोड दिइएको थियो।

कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका डिस्ट्रिक्ट गभर्नर रमेश अधिकारी, पूर्व अन्तर्राष्ट्रिय निर्देशक (PID) बालकृष्ण बुर्लाकोटी, डिस्ट्रिक्ट गभर्नर टिम, डिस्ट्रिक्ट क्याबिनेट पदाधिकारी, विभिन्न क्लबका पदाधिकारी तथा लायन्स सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अभिमुखीकरण कार्यक्रममा PID बालकृष्ण बुर्लाकोटी, PRO-in-Chief सुरेन्द्रबाबु श्रेष्ठ तथा महाप्रसाद पाण्डेयले सहजीकरण तथा प्रशिक्षण प्रदान गरेका थिए। वक्ताहरूले लायन्स केवल एउटा सामाजिक संस्था नभई सेवामार्फत नेतृत्व निर्माण गर्ने विश्वव्यापी अभियान भएको उल्लेख गर्दै नयाँ सदस्यहरूलाई समाजका वास्तविक समस्यासँग जोडिएर समाधानमुखी गतिविधिमा सक्रिय हुन आग्रह गरेका थिए।

कार्यक्रमका प्रमुख प्रशिक्षक तथा डिस्ट्रिक्ट ३२५ के नेपाल मिशन १.५ का प्रमुख संकाय संयोजक महाप्रसाद पाण्डेयले नयाँ सदस्यहरूमा नेतृत्व क्षमता, सेवाभाव, संस्थागत मूल्य–मान्यता र जिम्मेवारीबोध विकास गर्न अभिमुखीकरण कार्यक्रम प्रभावकारी बनेको बताए। उनले लायन्सको मूल मन्त्र “हामी सेवा गर्छौं” लाई व्यवहारमा उतार्दै समुदायको आवश्यकता अनुसार कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार समाजमा बढ्दो सामाजिक, आर्थिक तथा वातावरणीय चुनौतीबीच लायन्स सदस्यहरूले स्वयंसेवक नेतृत्वको उदाहरण प्रस्तुत गर्दै मानवीय सेवाका कार्यलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता रहेको छ। नयाँ पुस्ताका सदस्यहरूलाई जिम्मेवार, सक्षम र परिणाममुखी नेतृत्वका रूपमा विकास गर्ने लक्ष्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिइने पनि उनले बताए।

कार्यक्रमको सफलताले डिस्ट्रिक्ट ३२५ के नेपालको सामूहिक एकता, सहकार्य, समर्पण र सामाजिक सेवाप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्। साथै, समुदायको दिगो विकास र मानवीय सेवाको विस्तारमा नयाँ सदस्यहरूको सक्रिय सहभागिताले लायन्स अभियानलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण पदाधिकारी, प्रशिक्षक, स्वयंसेवक तथा सहभागीहरूप्रति आयोजकले आभार व्यक्त गरेको छ।









