
काठमाडौं, भदौ ७
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के (एमडी ३२५) नेपाल अन्तर्गत रिजन–१ रिजन चेयर पर्सन रन्जिता श्रेष्ठको आयोजनामा उद्घोषण तथा प्रभावकारी सार्वजनिक वक्तृत्वकला सम्बन्धी एकदिने तालिम कार्यक्रम सम्पन्न भएको छ।

बागलुङमा आयोजित तालिममा लायन्सका पदाधिकारी, सदस्य तथा विभिन्न क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रशिक्षक गणेश महतोले उद्घोषण कला, प्रभावकारी सार्वजनिक वक्तृत्व, कार्यक्रम सञ्चालनका आधारभूत सीप तथा नेतृत्व विकाससँग सम्बन्धित विषयमा प्रशिक्षण दिनुभएको थियो।

तालिमका क्रममा कार्यक्रम कसरी व्यवस्थित रूपमा सञ्चालन गर्ने, मञ्च सञ्चालन गर्दा अपनाउनुपर्ने शिष्टाचार, श्रोतामाझ आत्मविश्वासका साथ प्रस्तुत हुने तरिका, प्रभावकारी रूपमा बोल्ने कला, स्वागत मन्तव्य तथा धन्यवाद ज्ञापन गर्ने विधि, अतिथि परिचय, समय व्यवस्थापन र औपचारिक कार्यक्रम सञ्चालनका व्यवहारिक पक्षबारे प्रशिक्षण प्रदान गरिएको थियो।

प्रशिक्षक महतोले सफल उद्घोषक र वक्ताका लागि स्पष्ट उच्चारण, विषयवस्तुको ज्ञान, आत्मविश्वास तथा प्रभावकारी सञ्चार सीप आवश्यक हुने बताउनुभयो। उहाँले सार्वजनिक कार्यक्रममा वक्ताको प्रस्तुतिले कार्यक्रमको सफलतामा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै अभ्यास र तयारीलाई प्राथमिकता दिन आग्रह गर्नुभयो।

सहभागीहरूले तालिमबाट उद्घोषण र सार्वजनिक वक्तृत्वकलासम्बन्धी व्यवहारिक ज्ञान प्राप्त भएको प्रतिक्रिया दिएका थिए। तालिमले लायन्स सदस्यहरूको नेतृत्व क्षमता, सञ्चार सीप तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी सहभागिता अभिवृद्धि गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालले सदस्यहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा सेवामूलक गतिविधिलाई प्रभावकारी बनाउन यस्ता तालिममूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।












