सहकारीमा तरलता थुप्रियो, लगानीको वातावरण बनाउनुपर्नेमा जोड

-


     राजेशचन्द्र राजभण्डारी     
     भाद्र ७ गते २०८३ मा प्रकाशित


काठमाडौं, भदौ ७

प्रत्येक्ष दृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बालाजु–१६ काठमाडौंको आयोजनामा शनिबार सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहकारीकर्मी, सदस्य तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका पूर्व अध्यक्ष हरिकृष्ण उपाध्यायले मुलुकको आर्थिक गतिविधि सुस्त बन्दै जाँदा सहकारी र बैंक तथा वित्तीय संस्थामा ठूलो मात्रामा रकम थुप्रिएको बताए। बजारमा पर्याप्त तरलता भए पनि लगानीको वातावरण नबन्दा सहकारी तथा वित्तीय क्षेत्र चुनौतीमा परेको उनको भनाइ थियो।

उनले उद्योग, व्यवसाय र उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार हुन नसक्दा सहकारीमा बचत बढ्दै गए पनि कर्जा प्रवाहमा समस्या देखिएको उल्लेख गरे।
“सहकारी संस्था र बैंक तथा वित्तीय संस्थामा रकम प्रशस्त छ, तर लगानी गर्ने वातावरण छैन,” उनले भने, “सरकारले उद्योगी–व्यवसायीलाई प्रोत्साहन गर्नुको सट्टा हतोत्साहित गर्ने र आतंक सिर्जना गर्ने प्रवृत्तिले आर्थिक गतिविधि प्रभावित भएको छ।”

उपाध्यायले मुलुकको अर्थतन्त्र चलायमान बनाउन उत्पादन, उद्योग, कृषि, पर्यटन तथा साना तथा मझौला उद्यममा लगानीमैत्री वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए। निजी क्षेत्र र सहकारी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न सके आर्थिक गतिविधिमा सुधार आउने उनको भनाइ थियो।

कार्यक्रममा प्रत्येक्ष दृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष श्याम श्रेष्ठ सहकारीका शिक्षा समितिका संयाेजक अमृता थापा लगायतका बक्ताहरूले
सहकारी लाई सहकार्यको भावना अनुसार अगाडि बढेको धारणा राख्नुभएको थियो ।

कार्यक्रममा सहकारीको मूल्य, मान्यता, सिद्धान्त तथा सदस्यको दायित्वबारे जानकारी गराइएको थियो। वक्ताहरूले सहकारीलाई बचत तथा ऋण कारोबारमा मात्र सीमित नराखी उत्पादन, रोजगारी सिर्जना र समुदायको आर्थिक सशक्तीकरणसँग जोड्नुपर्ने आवश्यकता औँल्याए।

सहकारी शिक्षा कार्यक्रमले सदस्यहरूमा वित्तीय अनुशासन, बचत संस्कार तथा सहकारीप्रतिको विश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने आयोजक संस्थाले जनाएको छ। सहभागीहरूले वर्तमान आर्थिक चुनौतीबीच सहकारी क्षेत्रलाई थप पारदर्शी, उत्तरदायी र सदस्यकेन्द्रित बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।

२ करोड ५३ लाख शेयर पुजी रहेको सहकारीकाे ६५० जना शेयर सदस्य बिच काराेवार रहेको सहकारीले कार्यसमिति उपसमिति कर्मचारी लगायतका लाई दुई दिनको अध्ययन अवलोकन भ्रमण गराएकाे थियो ।

सहकारीका अध्यक्ष श्याम श्रेष्ठको अध्यक्षतामा भएको
कार्यक्रम सहकारीका सचिव बिष्णु कुमारी उपाध्यायकाे संचालनमा सम्पन्न भएको थियो ।