
काठमाडौं, भदौ ७
रगत अभावका कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गतका विभिन्न लायन्स क्लबहरूले काठमाडौंमा संयुक्त रक्तदान कार्यक्रम सम्पन्न गरेका छन्।

मानव जीवन बचाउने अभियानलाई निरन्तरता दिँदै डिस्ट्रिक्टअन्तर्गतका क्लबहरूले रक्तदान कार्यक्रम आयोजना गरी आवश्यक रगत संकलन कार्यलाई थप प्रभावकारी बनाएका हुन्। कार्यक्रममा सहभागी रक्तदाताहरूले स्वेच्छिक रूपमा रक्तदान गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरेका थिए।

डिस्ट्रिक्ट ३२५ के नेपालका ब्लड डोनेसन डिपार्टमेन्ट चिफ लायन दिनोज चित्रकारले रगतको कुनै कृत्रिम विकल्प नभएकाले नियमित रक्तदानको आवश्यकता दिनप्रतिदिन बढ्दै गएको बताए। उनका अनुसार एक व्यक्तिले गरेको रक्तदानले एकभन्दा बढी बिरामीको जीवन बचाउन सक्ने भएकाले रक्तदानलाई सबैभन्दा ठूलो मानवीय सेवाका रूपमा लिने गरिन्छ।

शनिबार आयोजित संयुक्त रक्तदान कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं ब्लडहुड, लायन्स क्लब अफ काठमाडौं मेट्रो सिटी, लायन्स क्लब अफ काठमाडौं न्यू मेट्रो सिटी तथा लियो क्लब अफ काठमाडौं मेट्रो सिटीको सहभागिता रहेको थियो। कार्यक्रममा रक्तदान गर्ने सम्पूर्ण रक्तदाताप्रति आयोजकहरूले आभार व्यक्त गर्दै उनीहरूको योगदानले अस्पतालमा उपचाररत बिरामीहरूको जीवन रक्षा गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरसँगको सहकार्यमा स्थापना गरेको लायन्स ब्लड बैंकमार्फत संकलित रगत विभिन्न अस्पतालमा उपचाररत बिरामीलाई उपलब्ध गराउँदै आएको छ। डिस्ट्रिक्टले नियमित रक्तदान कार्यक्रममार्फत आवश्यक रगतको आपूर्ति व्यवस्थापन गर्न देशका विभिन्न स्थानमा अभियान सञ्चालन गर्दै आएको जनाएको छ।

“आज तपाईंले दिएको रगत भोलि कसैको जीवन बन्न सक्छ” भन्ने सन्देशलाई आत्मसात् गर्दै आयोजकहरूले स्वस्थ व्यक्तिहरूलाई नियमित रक्तदान गर्न आग्रह गरेका छन्। रगतको अभावका कारण कसैले पनि ज्यान गुमाउनुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यका साथ यस्ता मानवीय अभियानलाई निरन्तरता दिइने जनाइएको छ।

रक्तदान कार्यक्रमले समाजमा मानवीय सेवा, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्नुका साथै आवश्यक रगतको उपलब्धता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।










