लायन्स क्लबहरूको संयुक्त पदस्थापन तथा सदस्यता ग्रहण कार्यक्रम भव्य रूपमा सम्पन्न

-


     हिडन खबर    
     भाद्र ६ गते २०८३ मा प्रकाशित


नुवाकोट, भदौ ७ — लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत विभिन्न लायन्स क्लबहरूको संयुक्त पदस्थापन (Joint Installation) तथा सदस्यता ग्रहण (Induction) कार्यक्रम नुवाकोटमा भव्य रूपमा सम्पन्न भएको छ।

‘हामी सेवा गर्छौं’ भन्ने मूल भावनालाई आत्मसात् गर्दै आयोजित कार्यक्रममा क्लस्टर चिफ लायन सुवर्ण कँडेल, रिजन चेयरपर्सन लायन रोजिता ओस्ती तथा जोन चेयरपर्सन लायन कृष्णप्रसाद भट्टको नेतृत्व रहेको थियो। कार्यक्रमले लायन्स अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए। त्यसैगरी डिस्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारी, डिस्ट्रिक्टका वरिष्ठ पदाधिकारी, विभिन्न क्लबका अध्यक्ष, लियो सदस्य तथा लायन्सकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले सामाजिक सेवा, मानवीय सहयोग, वातावरण संरक्षण, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लायन्सले पुर्‍याउँदै आएको योगदानको चर्चा गरेका थिए। उनीहरूले नयाँ नेतृत्वलाई सेवाभाव, एकता, सहकार्य र समर्पणका साथ समाजसेवामा सक्रिय हुन आग्रह गरेका थिए।

यस अवसरमा नवनिर्वाचित क्लब अध्यक्ष, पदाधिकारी, सदस्य तथा लियो सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो। लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका ग्लोबल कजेज चिफ लायन इन्द्र भट्टले नयाँ नेतृत्वले सेवामूलक गतिविधिलाई अझ प्रभावकारी बनाउँदै लायन्सको सेवायात्रालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रमले लायन्स अभियानप्रति सदस्यहरूको प्रतिबद्धता थप मजबुत बनाउनुका साथै सामाजिक सेवाका क्षेत्रमा आगामी दिनमा अझ प्रभावकारी कार्य गर्ने संकल्पसमेत व्यक्त गरेको आयोजकले जनाएको छ।