नवनिर्मित बुद्ध फल्चा उद्घाटन, स्थानीय सम्पदा संरक्षणमा जोड

-


     हिडन खबर    
     भाद्र ६ गते २०८३ मा प्रकाशित


काठमाडौं, भदौ ६

काठमाडौं उपत्यकाको मौलिक कला, संस्कृति तथा परम्परागत सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न स्थानमा फल्चा निर्माण तथा पुनर्निर्माणका कार्यहरू तीव्र रूपमा अघि बढिरहेका छन्।

स्थानीय तहले परम्परागत नेवारी सभ्यता झल्काउने संरचनाहरू निर्माण गर्दै सांस्कृतिक पहिचान जोगाउने अभियानलाई प्राथमिकता दिएको छ।

यसैक्रममा चन्द्रागिरि नगरपालिका–१५, तीनथाना स्थित बुद्ध मन्दिरचोकमा नवनिर्मित बुद्ध फल्चा (ल्वंहिति) शनिबार एक विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको छ।

करिब ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको उक्त फल्चाको उद्घाटन बागमती प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिले गरेका हुन्। कार्यक्रममा बोल्दै मन्त्री प्रजापतिले परम्परागत सम्पदाको संरक्षणले स्थानीय संस्कृति, पर्यटन तथा सामाजिक एकतालाई थप मजबुत बनाउने बताए।

उद्घाटन कार्यक्रममा बागमती प्रदेश सभाका अर्थ तथा विकास समितिका सदस्य नुरज बज्राचार्य, चन्द्रागिरि नगरपालिका–१५ का वडाध्यक्ष घनश्याम लुइँटेल, समाजसेवी देवेन्द्र प्रधान लगायत स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

स्थानीयवासीका अनुसार फल्चा केवल विश्रामस्थल मात्र नभई समुदायबीच आपसी सम्बन्ध विस्तार गर्ने तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्ने महत्वपूर्ण सार्वजनिक स्थलका रूपमा परिचित छ। नवनिर्मित बुद्ध फल्चाले स्थानीय सांस्कृतिक पहिचान संरक्षणसँगै धार्मिक तथा पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।