
काठमाडौं, भदौ ६ – गाईजात्राको अवसर पारेर किसिपिडीले आयोजना गरेको ‘नवौं किसिपिडी आन्तरिक ब्याडमिन्टन प्रतियोगिता–२०८३’ शनिबारदेखि महाकाल ब्याडमिन्टन कभर्ड हलमा सुरु भएको छ।

प्रतियोगिताको उद्घाटन चन्द्रागिरि नगरपालिका–५ का वडाध्यक्ष राजेन्द्र महर्जनले गरेका हुन्। उद्घाटन कार्यक्रममा काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामी, बागमती प्रदेशसभाकी पूर्वसांसद बेलीमाया घलेलगायतको उपस्थिति रहेको थियो।

आयोजक किसिपिडीका अनुसार प्रतियोगितामा स्थानीय खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको छ। गाईजात्रा पर्वको सांस्कृतिक महत्वलाई खेलकुदसँग जोड्दै आयोजना गरिएको प्रतियोगिताले खेलाडीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै आपसी सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यस्तै, प्रतियोगिताले स्थानीय स्तरमा ब्याडमिन्टन खेलको विकास, विस्तार र प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास आयोजकको छ।











