बागलुङबाट रासायनिक मलको अवैध ओसारपसारमा संलग्न ३ जना पक्राउ

-


     हिड्न खबरदाता     
     भाद्र ६ गते २०८३ मा प्रकाशित


बागलुङ, भदौ ६

बागलुङ जिल्लाका कृषकका लागि ल्याइएको रासायनिक मल अवैध रूपमा ओसारपसार गरी पर्साको वीरगञ्जतर्फ पठाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङले शुक्रबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो। प्रहरीका अनुसार बागलुङ नगरपालिका–२ स्थित धौलागिरी बिउ भण्डार तथा कालिगण्डकी मल बिउ पसलबाट कृषकका लागि वितरण गरिने रासायनिक मल अवैध रूपमा अन्यत्र पठाइँदै गरेको सूचनाका आधारमा विशेष टोली परिचालन गरिएको थियो।

प्रहरीले भदौ ३ गते दिउँसो करिब ४ बजे गरेको निगरानी तथा अनुसन्धानका क्रममा रासायनिक मलको अवैध ओसारपसारमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्नेहरूमा बागलुङ नगरपालिका–१ रामरेखा निवासी ५३ वर्षीय दिनेश पण्डित कुम्हार, बागलुङ नगरपालिका–२ का ७७ वर्षीय कुल बहादुर मगर र बागलुङ नगरपालिका–३ का ५२ वर्षीय विनय शाक्य रहेका छन्।

अवैध रूपमा बागलुङबाट विरगञ्ज लैजान लागेको ७५० किलो युरिया मल बरामदसमेत गरेको जिल्ला प्रहरी कार्यलय बागलुङको प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाइँले जानकारी दिए

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक रामनारायण अर्यालका अनुसार पक्राउ परेकाविरुद्ध कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धानका लागि अदालतबाट म्याद थप अनुमति लिई प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

कृषकका लागि सहुलियत दरमा उपलब्ध गराइने रासायनिक मल अवैध रूपमा अन्य जिल्लातर्फ पठाउने कार्यले स्थानीय किसानलाई प्रत्यक्ष असर पुग्ने भएकाले यस्ता गतिविधिविरुद्ध निगरानी कडा पारिएको प्रहरीले जनाएको छ।