
बागलुङ, भदौ ६ — लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतको लायन्स क्लब अफ बागलुङ सिटी को आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।

बागलुङ नगरपालिका–१, रामरेखास्थित धौलागिरि बहिरा माध्यमिक विद्यालय मा अध्ययनरत विद्यार्थीहरूको निःशुल्क आँखा परीक्षण गर्नुका साथै आवश्यक चस्मा र औषधि वितरण गरिएको हो।

क्लबकी अध्यक्ष सन्ध्या श्रेष्ठ राजभण्डारी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै पूर्वअध्यक्ष पार्वती अधिकारी ले सामाजिक सेवामा समर्पित लायन्स क्लबले शिक्षा, स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको बताइन्। उनले बढ्दो मोबाइल फोन तथा डिजिटल उपकरणको प्रयोगका कारण सानै उमेरका विद्यार्थीमा आँखासम्बन्धी समस्या बढ्दै गएको उल्लेख गर्दै समय–समयमा आँखा परीक्षण गराउनुपर्ने आवश्यकता औँल्याइन्।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रेशमबहादुर श्रीसले विद्यार्थीहरूको आँखा परीक्षणका लागि लायन्स क्लबले गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे।

शिविरमा प्राविधिक सहयोग सफल चस्मा घर का सञ्चालक गणेश महतो ले प्रदान गरेका थिए। कार्यक्रमको सञ्चालन क्लबकी सचिव लक्ष्मी लामिछाने ले गरेकी थिइन्।

शिविरमा १५० जना विद्यार्थीको आँखा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा १२ जना विद्यार्थीमा दृष्टिदोष (आँखाको पावर) सम्बन्धी समस्या देखिएको अध्यक्ष सन्ध्या श्रेष्ठ राजभण्डारीले जानकारी दिइन्। ती विद्यार्थीलाई निःशुल्क चस्मा वितरण गरिएको थियो। साथै दुई जना विद्यार्थीमा आँखा पाक्ने समस्या देखिएकाले आवश्यक औषधि उपलब्ध गराइएको थियो।



















