कास्कीका स्थानीय तहहरूको वार्षिक समीक्षा सम्पन्न

-


     हिड्न खबरदाता     
     भाद्र ५ गते २०८३ मा प्रकाशित


पोखरा, भदौ ५ – जिल्ला समन्वय समिति (जिसस) कास्कीले आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा तथा असल अभ्यास अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य देवका पहारीले गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको संविधानले व्यवस्था गरेका तीन तहका सरकारबीच प्रभावकारी समन्वय र सहजीकरणमा जिल्ला समन्वय समिति कास्कीको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। उहाँले विकास योजनाको छनोट तथा कार्यान्वयनका लागि स्पष्ट कानुनी व्यवस्था र व्यवस्थित संरचना निर्माण आवश्यक रहेको उल्लेख गर्नुभयो।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले स्थानीय सरकार सञ्चालन ऐनअनुसार पालिकाहरूको कार्यसम्पादन मूल्याङ्कन तथा विकास निर्माणका कामको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले अर्धवार्षिक र वार्षिक समीक्षा कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिनुभयो।

प्रमुख पौडेलले विकास योजना छनोट प्रक्रिया र प्राथमिकीकरणमा देखिएका कमजोरीका कारण पालिकाहरूको कार्यसम्पादन अपेक्षाअनुसार उत्कृष्ट हुन नसकेको बताउनुभयो। उहाँले सुशासन, पारदर्शिता र जवाफदेहितामा आधारित सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन स्थानीय तहलाई आग्रह गर्नुभयो।

साथै, कास्कीका सबै पालिकालाई बेरुजुमुक्त बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
शुक्रबार पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रूपा गाउँपालिका र मादी गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को समीक्षा गरिएको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिनुभयो। उहाँका अनुसार आगामी सोमबार विकासतर्फका कार्यालय तथा मंगलबार सामाजिक सेवा प्रदायक कार्यालयहरूको समीक्षा गरिनेछ।

कार्यक्रममा पोखरा चेम्बर अफ कमर्सका महासचिव गोकर्ण अधिकारी, नागरिक समाज कास्कीका अगुवा रामबहादुर पौडेल, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।समीक्षा कार्यक्रममा कास्कीका स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नागरिक समाजका प्रतिनिधि तथा उद्योगी–व्यवसायीहरूको सहभागिता रहेको थियो।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख सरिता मालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको सूचना अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो।