
पोखरा, भदौ ५ – पोखरा उद्योग वाणिज्य सङ्घको आगामी भदौ २० र २१ गते हुने ३६औँ महाधिवेशनका लागि अध्यक्ष पदकी आकांक्षी शोभा गौतमले आफ्नो प्यानल घोषणा गरेकी छन्।
पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गौतमले प्यानल सार्वजनिक गर्दै निर्वाचनमा एकताबद्ध रूपमा प्रतिस्पर्धा गर्ने प्रतिबद्धता व्यक्त गरिन्। हाल सङ्घको महासचिवको जिम्मेवारी सम्हालिरहेकी गौतमले ‘समावेशी टिम, जुझारु नेतृत्व—सबल सङ्घ, समृद्ध पोखरा’ भन्ने नारासहित उम्मेदवारी घोषणा गरेकी हुन्।
उनको प्यानलमा वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी, उद्योग उपाध्यक्षमा सौगात थापा, वाणिज्य उपाध्यक्षमा भीम गौतम, महासचिवमा तारानाथ ढुङ्गाना, कोषाध्यक्षमा बालकृष्ण कोइराला तथा उपमहासचिवमा यादव पोखरेल रहेका छन्।
प्यानल घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष पदकी उम्मेदवार गौतमले व्यवसायीहरूको साझा हित, संस्थागत सुदृढीकरण तथा पोखराको आर्थिक विकासलाई केन्द्रमा राखेर आफ्नो टिम निर्वाचनमा होमिएको बताइन्। उनले सङ्घलाई थप प्रभावकारी, समावेशी र व्यवसायीमैत्री बनाउने प्रतिबद्धतासमेत व्यक्त गरिन्।
पोखरा उद्योग वाणिज्य सङ्घको आगामी नेतृत्व चयनका लागि हुने निर्वाचनलाई व्यवसायी समुदायले चासोका साथ हेरेका छन्।









