
तीज पर्वको अवसर पारेर माइतीको माया, चेलीको भावना र लाहुरे भिनासँगको आत्मीय सम्बन्धलाई समेटिएको नयाँ तीज गीत ‘लाहुरे भिनाले’ सार्वजनिक गरिएको छ।
गीतले नेपाली मौलिक संस्कृति, पारिवारिक सम्बन्ध तथा चेली–माइतीबीचको भावनात्मक सम्बन्धलाई रमाइलो र मार्मिक ढंगले प्रस्तुत गरेको छ।
गीतमा सम्झना रानापाल र कोपिला न्यौपानेको स्वर रहेको छ। विष्णु सिङ्जालीको शब्द तथा संगीत रहेको गीतमा महेन्द्र भण्डारीले सङ्गीत संयोजन (एरेन्ज) गरेका छन् भने कुमार रानाले मिक्सिङ तथा मास्टरिङ गरेका छन्।
गीतको भिडियोमा अलिना रायमाझी, श्रीस्ती रानापाल, शंकर सुनार र गिरिराज पौडेललगायत कलाकारको अभिनय रहेको छ। विशाल रायमाझीको निर्देशनमा तयार गरिएको भिडियोमा तीजको उल्लाससँगै पारिवारिक प्रेम, हाँसो–खुसी र भावनात्मक पक्षलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ।
सार्वजनिक भएको ‘लाहुरे भिनाले’ गीतले विशेषगरी तीजका बेला माइतीको सम्झनामा रहने चेलीहरूको मन छुने अपेक्षा गरिएको छ। गीत सार्वजनिक भएसँगै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको निर्माण पक्षले जनाएको छ।









