
बागलुङ, भदौ ३ गम्भीर कलेजो रोगबाट पीडित बागलुङ नगरपालिका–१ निवासी सन्तोष पौडेलको उपचारमा सहयोग पुर्याउन लायन्स क्लब अफ बागलुङले नगद २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
दुवै मिर्गौलासँगै कलेजोमा समेत समस्या देखिएपछि हाल पौडेल काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (लिभर अस्पताल) मा उपचाररत रहेका छन्। चिकित्सकले कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था रहेको जनाउँदै ठूलो आर्थिक रकम आवश्यक पर्ने बताएका छन्।
यही परिस्थितिलाई मध्यनजर गर्दै सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ बागलुङले मानवीय उत्तरदायित्व निर्वाह गर्दै उपचार खर्चमा सहयोग स्वरूप २० हजार रुपैयाँ उपलब्ध गराएको क्लबले जनाएको छ। क्लबका पदाधिकारीहरूले कठिन स्वास्थ्य अवस्थासँग संघर्ष गरिरहेका पौडेलको जीवनरक्षाका लागि सबै क्षेत्रबाट सहयोग जुट्नुपर्ने बताएका छन्।
‘सन्तोष पौडेल बचाऔँ अभियान’ सञ्चालन गरी देश तथा विदेशमा रहेका नेपाली, विभिन्न संघसंस्था, समाजसेवी तथा सहयोगी मनहरूलाई आर्थिक सहयोगका लागि अपिल गरिएको छ। अभियानका अनुसार कलेजो प्रत्यारोपण र थप उपचारका लागि अझै ठूलो रकम आवश्यक रहेको जनाइएको छ।
लायन्स क्लब अफ बागलुङले मानवीय सेवाको भावनाअनुरूप पीडितको उपचारमा सहयोग गरेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने जनाएको छ।
अभियान पक्षले पौडेलको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोगी सबैप्रति आभार व्यक्त गरेको छ।











