दाजु–बहिनी प्रशान्त कौशल र सिम्रन परियारको स्वरमा ‘रानीबन’ सार्वजनिक

-


     केपी कुमार जलन     
     भाद्र ३ गते २०८३ मा प्रकाशित


बागलुङ । गायक तथा सर्जक प्रशान्त कौशल र गायिका सिम्रन परियारको स्वरमा रहेको नयाँ गीत ‘रानीबन’ सार्वजनिक भएको छ। दाजु–बहिनीको सुमधुर स्वरमा सजिएको गीतको भिडियो सार्वजनिक भएसँगै दर्शक तथा संगीतप्रेमीमाझ चर्चा बटुल्न थालेको छ।

प्रशान्त कौशलको शब्द तथा संगीत रहेको गीतमा प्रशान्त र सिम्रनले नै स्वर दिएका छन्। गीतको भिडियोमा प्रशान्त कौशल, रमेश विश्वकर्मा र सन्ध्या परियारको अभिनय देख्न सकिन्छ।

बागलुङको सिगाना–लामिचौर क्षेत्रमा छायांकन गरिएको भिडियोमा स्थानीय प्राकृतिक सौन्दर्य, गाउँले परिवेश तथा मौलिक जीवनशैलीलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ। प्रशान्त कौशलको जन्मथलोसमेत रहेको लामिचौरको रमणीय परिवेशले गीतको कथावस्तुलाई थप जीवन्त बनाएको छ।

दाजु–बहिनीको आत्मीय सम्बन्धलाई केन्द्रमा राखेर तयार पारिएको गीतमा गाउँघरको परिवेश, प्रेम र मानवीय सम्बन्धका भावनालाई समेटिएको छ। मौलिक ग्रामीण परिवेशमा निर्माण गरिएको भिडियोले नेपाली गाउँघरको सुन्दरता र स्थानीय जीवनशैलीलाई दर्शकमाझ पुर्‍याउने प्रयास गरेको छ।

गीतमा आकाश नेपालीको एरेन्ज तथा मिक्सिङ, दिनेश दर्जीको प्रोडक्सन व्यवस्थापन, प्रशान्त कौशलको कथा, प्रवेश पोखरेलको छायांकन तथा सम्पादन, मदन न्यौपानेको मेकअप र सुरेश थापाको निर्देशन रहेको छ।

‘रानीबन’ सार्वजनिक भएसँगै गीतले दर्शक तथा संगीतप्रेमीबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको निर्माण पक्षले जनाएको छ। दाजु–बहिनीको स्वर, मौलिक कथा र बागलुङको प्राकृतिक सौन्दर्यको समिश्रणले गीतलाई थप आकर्षक बनाएको छ।