नेपालमै पहिलोपटक फिल्म हलमा टेलिसिरियल ‘जुनी’को टिजर सार्वजनिक

-


     राजेशचन्द्र राजभण्डारी     
     भाद्र ३ गते २०८३ मा प्रकाशित


काठमाडौं । नेपाली टेलिसिरियलको इतिहासमै पहिलोपटक टेलिसिरियलको टिजर चलचित्र प्रदर्शन हुने फिल्म हलमा सार्वजनिक गरिएको छ। नेपाली सामाजिक परिवेशमा आधारित टेलिसिरियल ‘जुनी’ को टिजर काठमाडौंस्थित जय नेपाल फिल्म हल मा एक विशेष समारोहका बीच सार्वजनिक गरिएको हो।

प्रास्टा मिडियाको प्रस्तुतिमा निर्माण भएको सिरियल ‘जुनी’को टिजर सार्वजनिक कार्यक्रममा नेपाली कला तथा चलचित्र क्षेत्रका वरिष्ठ व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, कलाकार उत्तम केसी, चलचित्र ‘प्राण’ का निर्देशक दीपक आचार्य, कलाकार विनोद श्रेष्ठ जय नेपाल फिल्म हलका संचालक संजय श्रेष्ठ लगायतले सिरियलको सफलताको शुभकामना व्यक्त गरेका थिए।

सार्वजनिक गरिएको टिजरले नेपाली समाजका पारिवारिक सम्बन्ध, संघर्ष, पीडा र जीवनका विविध आयामलाई प्रस्तुत गर्ने संकेत गरेको छ। भावनात्मक कथावस्तुमा आधारित सिरियलले दर्शकको मन छुने विश्वास निर्माण टिमले व्यक्त गरेको छ।

सिरियलमा सरोज खनाल लगायतका कलाकारहरूको अभिनय रहेको छ भने निर्देशन विशाल सापकोटा र सौगात क्षेत्री ले गरेका छन्। निर्माण पक्षका अनुसार ‘जुनी’ले नेपाली समाजका यथार्थ घटनाक्रम र जीवन भोगाइलाई कलात्मक ढंगले प्रस्तुत गर्ने प्रयास गरेको छ।

टेलिसिरियलको प्रचार–प्रसारलाई नयाँ उचाइ दिन फिल्म हलमै टिजर सार्वजनिक गरिएको निर्माण पक्षको भनाइ छ। नेपाली टेलिभिजन तथा डिजिटल मनोरञ्जन क्षेत्रमा यो अभ्यासलाई नयाँ सुरुआतका रूपमा हेरिएको छ।

टिजर सार्वजनिक भएसँगै ‘जुनी’प्रति दर्शकमाझ उत्सुकता बढेको निर्माण टिमले जनाएको छ।

कार्यक्रममा कलाकार उत्तम केसी लगायत टेलिसिलियरमा काम गरेर महत्त्वपूर्ण भुमिका खेलेका एक दर्जन कलाकारलाई सम्मान गरिएको थियो ।