तीज नजिकिँदै गर्दा अमेरिकाबाट शंकर विसीको भावुक सम्झना

-


     हिडन खबर    
     भाद्र ३ गते २०८३ मा प्रकाशित


काठमाडौं । तीज पर्व नजिकिँदै गर्दा नेपाली सांगीतिक क्षेत्रका चर्चित निर्देशक तथा नृत्य निर्देशक शंकर विसीले विगतका तीजका दिनहरू सम्झँदै भावुक अभिव्यक्ति दिएका छन्। हाल अमेरिका रहेका विसीले यसपटकको तीजमा सांगीतिक गतिविधिमा सक्रिय हुन नपाउँदा आफूलाई खल्लो महसुस भइरहेको बताएका छन्।

विसीका अनुसार उनले आफ्नो लामो सांगीतिक यात्रामा अभिनय तथा निर्देशन गरेका ६–७ हजारभन्दा बढी गीतमध्ये करिब १ हजार ५ सयदेखि २ हजारसम्म तीज गीत रहेका छन्। तीजको हरेक सिजनमा ८० देखि ९० वटासम्म गीतमा निर्देशन तथा अभिनय गर्दै आएका उनले करिब दुई दशक तीज गीत–संगीतमै बिताएका छन्।

“तीज महिलाहरूलाई भन्दा मलाई बढी लाग्थ्यो,” भन्दै विसीले विगतका तीज सिजनका अनुभव स्मरण गरेका छन्। गत वर्ष पनि उनले ‘पारी–पारी आएका’, ‘ढाका टोपी लाएका’ र ‘लालाजी’ जस्ता चर्चित गीतमा निर्देशन तथा अभिनय गरेका थिए। तीमध्ये केही गीत करोड क्लबमा समेत प्रवेश गरेका थिए।

यसपटक अमेरिका रहेका कारण तीजका गीतमा प्रत्यक्ष रूपमा सहभागी हुन नपाउँदा आफ्ना सहकर्मी, सर्जक, कलाकार, प्राविधिक तथा म्युजिक कम्पनीसँग आबद्ध साथीहरूको झन् बढी सम्झना आएको उनले बताएका छन्।

आफ्नो सांगीतिक यात्रामा साथ, सहयोग र अवसर प्रदान गर्ने सम्पूर्ण सर्जक तथा म्युजिक कम्पनीप्रति आभार व्यक्त गर्दै विसीले उनीहरूको योगदानकै कारण आफू आजको स्थानसम्म पुग्न सफल भएको उल्लेख गरेका छन्।

उनले आफन्त, साथीभाइ, कलाकार, प्राविधिक, पत्रकार तथा शुभचिन्तकलाई सम्झँदै “अर्को वर्षको तीजमा हाम्रो भेट अवश्य हुनेछ” भन्ने विश्वास व्यक्त गरेका छन्। साथै, सबैप्रति माया, सम्मान र शुभेच्छा प्रकट गरेका छन्।

शंकर विसीको यो भावुक अभिव्यक्तिले नेपाली तीज गीत–संगीतमा उनले पुर्‍याएको लामो योगदान र तीजसँग जोडिएको उनको गहिरो सम्बन्धलाई पुनः स्मरण गराएको छ।