लायन्सका चार क्लबद्वारा संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

-


     राजेशचन्द्र राजभण्डारी     
     भाद्र २ गते २०८३ मा प्रकाशित


काठमाडौं, भदौ २ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत बागमती क्षेत्रका लायन्स क्लब अफ काठमाडौं कोसेली, लायन्स क्लब अफ काठमाडौं उपहार, लायन्स क्लब अफ काठमाडौं सारा सेवा तथा लायन्स क्लब अफ काठमाडौं सिंहला ग्रुपको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

मानवीय सेवाप्रतिको प्रतिबद्धतालाई आत्मसात गर्दै आयोजना गरिएको उक्त कार्यक्रमको उद्देश्य काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत रगत आवश्यक पर्ने बिरामीहरूलाई आवश्यक समयमा सहज रूपमा रगत उपलब्ध गराउनु रहेको आयोजकले जनाएको छ।

जिगु इच्छुमती पार्क, बागबजारमा सम्पन्न कार्यक्रममा उल्लेखनीय संख्यामा रक्तदाताहरूको सहभागिता रहेको थियो। रक्तदान कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याउने क्लबका अध्यक्षहरू, भीएसटी (VST) टिम तथा सम्पूर्ण क्लब परिवारप्रति आयोजकहरूले धन्यवाद व्यक्त गरेका छन्।

कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका डिपार्टमेन्ट चिफ लायन दिनोज चित्रकारले मानवीय सेवाका गतिविधिमा सक्रिय सहभागिता जनाउँदै कार्यक्रमको शोभा बढाएका थिए। साथै, क्लबका सदस्यहरूलाई प्रेरणा, उत्साह र हौसला प्रदान गर्न उपस्थित डिस्ट्रिक्टका अग्रज लायन नेताहरूप्रति आयोजकले विशेष आभार व्यक्त गरेका छन्।

रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरूलाई डिस्ट्रिक्ट डिपार्टमेन्ट चिफ दिनाेज चित्रकारले सम्मानस्वरूप ३५ जना रक्तदान गर्ने रक्तदाताहरूलाइ प्रमाणपत्र प्रदान गरेका थिए।

कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के का गभर्नर रमेश अधिकारी फस्ट भाइस गभर्नर बिष्णु हरि फुयाल सेकेन्ड भाइस गभर्नर हसन कुमार गाेपाली सेक्रेटरी गणेश जिसी लगायत डिस्ट्रिकका लिडरहरूकाे सहभागीता रहेको थियो ।

आयोजकले मानव जीवन बचाउने महान् अभियानमा स्वेच्छिक रूपमा आफ्नो अमूल्य रगत दान गर्ने सम्पूर्ण रक्तदाताप्रति हार्दिक सम्मान र कृतज्ञता व्यक्त गरेका छन्। लायन्सको मूल मन्त्र “We Serve” लाई व्यवहारमा उतार्दै यस्ता मानवीय कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाइएको छ।