
कास्की, भदौ २
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा समृद्धिले सामाजिक उत्तरदायित्व अन्तर्गतको मानवीय सेवा कार्यक्रम सञ्चालन गर्दै लायन वर्ष २०२६/२७ को सुरुआतमै उदाहरणीय कार्यको थालनी गरेको छ।

डिस्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारीले अघि सारेको यस वर्षको मूल नारा “Leading With Purpose” लाई व्यवहारमा उतार्दै क्लबले आफ्ना संस्थापक सदस्य स्वर्गीय मिथिला मल्लको जन्मतिथिको स्मरणमा “हङ्गर रिलिफ कार्यक्रम” (खाना खुवाउने कार्यक्रम) आयोजना गरेको हो। लायन्सको प्रमुख सेवामूलक अभियानमध्ये भोकमरी न्यूनीकरण पनि एक रहेको छ।

पोखरा–६, लेकसाइडस्थित कोपिला नेपालमा आयोजित कार्यक्रममा आश्रित तथा आवश्यकता भएका व्यक्तिहरूलाई भोजन वितरण गरिएको थियो। कार्यक्रममार्फत स्वर्गीय मिथिला मल्लप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै मानवीय सेवाको भावनालाई थप सशक्त बनाइएको क्लबले जनाएको छ।

क्लबका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रमले समाजप्रति लायन्सको सेवाभाव र सामाजिक प्रतिबद्धतालाई उजागर गरेको छ। सेवामूलक कार्यमार्फत समुदायमा सकारात्मक सन्देश प्रवाह गर्दै क्लबले आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

स्वर्गीय मिथिला मल्लको पुण्य स्मृतिमा आयोजित उक्त कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण सदस्य, सहयोगी तथा शुभेच्छुकप्रति लायन्स क्लब अफ पोखरा समृद्धिले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।











