
काठमाडौं । लोकप्रिय लोकगायक पशुपति शर्मा र गायिका निशा केसीको सहकार्यमा नयाँ लोकदोहोरी गीत ‘घरकाले गन्दैनन्’ सार्वजनिक भएको छ। पशुपति शर्माको प्रस्तुति तथा स्वर रहेको गीतमा निशा केसीले पनि स्वर दिएकी छन्।
गीतमा शब्द तथा संगीत पशुपति शर्माकै रहेको छ भने संगीत संयोजन विश्वास नेपालले गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ मनोज परियारले गरेका हुन्।
गीतको भिडियोमा पशुपति शर्मा, निशा केसीलगायत कलाकारलाई फरक तथा आकर्षक शैलीमा प्रस्तुत गरिएको छ। भिडियोको कथा तथा निर्देशन जेरी भण्डारीले गरेका छन् भने छायांकन दुर्गा पौडेलले गरेका छन्। सम्पादन तथा कलर ग्रेडिङ मिलन विश्वकर्माले गरेका हुन्।
त्यस्तै, भिडियोमा मेकअप सोनिका गैरे, कोरियोग्राफी अमर रावल (कोसिस) तथा पोशाक व्यवस्थापन भ्यालेन्टिनो बुटिकले गरेको छ। भिडियोको पोस्ट–प्रोडक्सन ड्राग पिक्चर्सले गरेको हो।
निशा केसी र पशुपति शर्माको सहकार्य भने यो पहिलो पटक होइन। यसअघि उनीहरूले ‘डाँलिमा चील बस्यो’ गीतमा सहकार्य गरेका थिए, जुन गीत करोड क्लबमा प्रवेश गर्न सफल भएको थियो। उक्त गीतले दर्शक–श्रोतामाझ व्यापक लोकप्रियता हासिल गरेको थियो।
त्यसपछि ‘चाहिँदैन मलाई चाहिँदैन’, ‘नक्कले माया’ र ‘मलाई त मन पर्छ क्यारे’ लगायतका गीतमा पनि निशा केसीले पशुपति शर्मासँग सहकार्य गरिसकेकी छन्। यही सफल सहकार्यको निरन्तरतास्वरूप अहिले ‘घरकाले गन्दैनन्’ बोलको नयाँ लोकदोहोरी गीत सार्वजनिक गरिएको हो।
मौलिक, व्यंग्यात्मक तथा हास्यप्रधान सिर्जनाका कारण पशुपति शर्मा नेपाली लोकदोहोरी क्षेत्रमा लोकप्रिय नामका रूपमा परिचित छन्। अर्कोतर्फ, निशा केसीले पनि विभिन्न चर्चित गीतमार्फत दर्शक–श्रोतामाझ आफ्नो छुट्टै पहिचान स्थापित गरेकी छन्।
दुवै कलाकारको पटक–पटकको सहकार्यले दर्शक–श्रोताको ध्यान आकर्षित गर्दै आएको अवस्थामा नयाँ गीत ‘घरकाले गन्दैनन्’ ले पनि मनोरञ्जनसँगै राम्रो चर्चा बटुल्ने अपेक्षा गरिएको छ। गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममा दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया आउन थालेका छन्।









