लायन्स क्लब अफ काठमाडौं नयाबजारको १०औँ चार्टर नाइट तथा पदस्थापन कार्यक्रम सम्पन्न

-


     राजेशचन्द्र राजभण्डारी     
     श्रावण ३१ गते २०८३ मा प्रकाशित


काठमाडौं, साउन ३१ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के (एमडी ३२५) नेपाल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं नयाबजारले आफ्नो स्थापनाको १०औँ वार्षिकोत्सव (चार्टर नाइट) भव्य रूपमा मनाएको छ। सो अवसरमा लायन वर्ष २०२६/२७ का लागि विभिन्न लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम समेत सम्पन्न गरिएको छ।

आइतबार काठमाडौंको बालाजुस्थित संगम वाटिकामा आयोजित ‘१०औँ चार्टर नाइट समारोह’मा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका पदाधिकारी, विभिन्न लायन्स क्लबका प्रतिनिधि, समाजसेवी तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

‘Leading With Purpose’ नाराका साथ आयोजित कार्यक्रममा क्लबले विगत एक दशकदेखि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा मानवीय सेवाका क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको समीक्षा गरिएको थियो। साथै आगामी दिनमा सञ्चालन गरिने सामाजिक सेवामूलक कार्यक्रम र योजनाबारे समेत छलफल गरिएको थियो।

कार्यक्रममा लायन्स इन्टरनेशनलका पूर्व अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटी, डिस्ट्रिक्ट गभर्नर रमेश अधिकारी तथा प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर विष्णुहरि फुयालले लायन वर्ष २०२६/२७ का विभिन्न क्लबका अध्यक्षहरूलाई पद तथा जिम्मेवारी हस्तान्तरण गराउँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

सो अवसरमा बागमती एरियाअन्तर्गतका क्लबहरूको पदस्थापन कार्यक्रम सम्पन्न भएको थियो। क्लस्टर चिफ सुवर्ण कँडेल, रिजन चेयरपर्सन राजकुमार बन्जारे, जोन चेयरपर्सन उत्सव श्रेष्ठ तथा जोन चेयरपर्सन निर्मल अधिकारीको समन्वयमा सम्पन्न कार्यक्रममा पदस्थापित भएका सम्पूर्ण क्लब अध्यक्षहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो। साथै नयाँ सदस्यहरूलाई लायन्स परिवारमा स्वागत गरिएको थियो।

क्लबले १० वर्षे सेवायात्राको अवसरमा सदस्य, सहयोगी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक सेवाप्रतिको प्रतिबद्धतालाई थप सशक्त बनाउने जनाएको छ।

कार्यक्रममा जोन चेयरपर्सन निर्मल अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने समारोह लायन्स क्लब अफ काठमाडौं नयाबजारका अध्यक्ष उत्सव श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।

लायन्स क्लब अफ काठमाडौं नयाबजारले स्थापना कालदेखि नै विभिन्न सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रम सञ्चालन गर्दै समुदायमा सकारात्मक योगदान पुर्‍याउँदै आएको छ।