निःशुल्क दन्त, आँखा परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न, सयौँ लाभान्वित

-


     राजेशचन्द्र राजभण्डारी     
     श्रावण ३१ गते २०८३ मा प्रकाशित


काठमाडौं, साउन ३१ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं मनास्लु गणेश हिमाल को आयोजना तथा ॐ समाज डेन्टल हस्पिटल को सहकार्यमा काठमाडौंको बनस्थली चोकमा निःशुल्क दन्त स्वास्थ्य शिविर, निःशुल्क आँखा परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

लायन्सको मूल मन्त्र “We Serve” (हामी सेवा गर्छौं) लाई आत्मसात् गर्दै आयोजित उक्त सेवामूलक कार्यक्रममा २०५ जनाको दन्त परीक्षण तथा २५ जनाको आँखा परीक्षण गरिएको क्लबले जनाएको छ। आँखा परीक्षण गरिएकामध्ये ३ जनामा मोतियाबिन्दु देखिएकाले शल्यक्रिया आवश्यक रहेको चिकित्सक टोलीले जानकारी दिएको छ। यस्तै, कार्यक्रममा ७ जनाले रक्तदान गरेका थिए।

शिविरमार्फत स्थानीय सर्वसाधारणले निःशुल्क स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श तथा आवश्यक सेवाको लाभ लिएका छन्। स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्दै स्वस्थ, समुन्नत र मानवीय समाज निर्माणमा योगदान पुर्‍याउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ।

कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका डिस्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारी, प्रथम उप-डिस्ट्रिक्ट गभर्नर लायन विष्णुहरि फुयाल, द्वितीय उप-डिस्ट्रिक्ट गभर्नर लायन हसन कुमार गोपाली, डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरी लायन गणेश जिसी लगायत जिल्लाका वरिष्ठ लायन नेतृत्वहरूको गरिमामय उपस्थिति रहेको थियो।

त्यसैगरी, क्लबका संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष, पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिताले सेवाभावलाई थप सशक्त बनाएको आयोजकले जनाएको छ। कार्यक्रमको संयोजन क्लब सचिव लायन पुष्पाञ्जली वाग्ले ले गर्नुभएको थियो।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका ग्लोबल कजेज चिफ लायन इन्द्र भट्ट ले कार्यक्रम सफल बनाउन सहयोग गर्ने ॐ समाज डेन्टल हस्पिटल परिवार, चिकित्सक टोली, स्वास्थ्यकर्मी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग र सहभागिता जनाउने सम्पूर्ण लायन सदस्यहरूप्रति आभार व्यक्त गर्नुभएको छ।

क्लबका अनुसार सेवा भनेको केवल कार्यक्रम सम्पन्न गर्नु मात्र नभई मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु पनि हो। स्वस्थ मुस्कानले आत्मविश्वास बढाउने, स्वस्थ आँखाले संसारलाई उज्यालो बनाउने र एक पिन्ट रक्तदानले कसैको अमूल्य जीवन बचाउन सक्ने भएकाले यस्ता सेवामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाइएको छ।