समयमै सम्पन्न भए लायन्स क्लबका एडभाइजरी बैठक, नेतृत्व र समन्वयको प्रशंसा

-


     हिड्न खबरदाता    
     श्रावण ३१ गते २०८३ मा प्रकाशित


काठमाडौं, साउन ३१
लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपाल अन्तर्गतका विभिन्न लायन्स क्लबहरूले निर्धारित समयसीमाभित्र जिल्ला गभर्नरको प्रथम एडभाइजरी कमिटी बैठक (District Governor’s First Advisory Committee Meeting) सम्पन्न गरेका छन्।

डिस्ट्रिक्टले तय गरेको कार्यतालिका अनुसार क्षेत्र तथा जोनस्तरमा बैठकहरू सम्पन्न भएसँगै क्लबहरूको संगठनात्मक सुदृढीकरण, सदस्यता अभिवृद्धि तथा सेवा गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा व्यापक छलफल भएको जनाइएको छ।

यसैक्रममा पोखरास्थित क्लासिकल चुलोमा साउन ३० गते सम्पन्न जोनस्तरीय एडभाइजरी बैठक सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जोन चेयरपर्सन सागर पौडेलको प्रशंसा गरिएको छ। बैठकमा जोन अन्तर्गतका सबै क्लबका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।

मिसन १.५ प्रमुख महाप्रसाद पाण्डेले जोन चेयरपर्सन पौडेलको नेतृत्व, समन्वय क्षमता तथा समय व्यवस्थापनको खुलेर प्रशंसा गर्दै बैठकलाई सफल बनाउन उनले खेलेको भूमिका प्रेरणादायी रहेको बताएका छन्। उनले क्लबहरूबीच सहकार्य, समन्वय र नेतृत्व विकासमा यस्ता बैठकहरूले महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरे।

बैठक सफल बनाउन क्लस्टर प्रमुख सुशील लम्साल र रिजन चेयरपर्सन बिजेन्द्र चौधरीले पुर्‍याएको सहयोग, समन्वय र सक्रिय सहभागिताको समेत प्रशंसा गरिएको छ। उनीहरूको सहकार्यले कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।

लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपालले चालु लायन वर्ष २०२६–२७ मा सदस्यता वृद्धि, सेवा परियोजना विस्तार तथा संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। समयमै सम्पन्न भएका एडभाइजरी बैठकहरूले डिस्ट्रिक्टको लक्ष्य प्राप्तिमा थप ऊर्जा र उत्साह थप्ने विश्वास व्यक्त गरिएको छ।