लायन्स क्लब अफ काठमाडौं कोर सिटीको चौथो चार्टर डे भव्य रूपमा सम्पन्न

-


     हिडन खबर    
     श्रावण ३० गते २०८३ मा प्रकाशित


काठमाडौं, साउन ३० । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं कोर सिटीले आफ्नो चौथो चार्टर डे (स्थापना दिवस) भव्य रूपमा मनाएको छ।

काठमाडौंको लिंक रोडस्थित नेपा बैंक्वेटमा शनिबार आयोजित कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य, विभिन्न लायन्स क्लबका प्रतिनिधि तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममार्फत क्लबले स्थापना भएदेखि हालसम्म समुदायमा पुर्‍याएको सेवामूलक योगदानको समीक्षा गर्नुका साथै आगामी दिनमा सञ्चालन गरिने सामाजिक तथा मानवीय सेवाका योजनाबारे पनि छलफल गरेको थियो।

कार्यक्रममा उर्जा मन्त्री विराज भक्त श्रेष्ठ लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपालका गभर्नर रमेश अधिकारी लगायतका लायन्स डिस्ट्रिकका लिडरहरूले
शुभकामना ब्यक्त गरेका थिए ।

क्लबका अध्यक्ष लायन अमित बज्राचार्यले चार्टर डे केवल उत्सव मात्र नभई सेवाभाव, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वलाई थप सुदृढ बनाउने अवसर भएको बताए। उनले समुदायको आवश्यकता अनुसार शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सहभागी वक्ताहरूले लायन्स क्लब अफ काठमाडौं कोर सिटीले छोटो अवधिमै सामाजिक सेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै प्रशंसा गरेका थिए। उनीहरूले लायन्स अभियानलाई अझ प्रभावकारी बनाउन युवा सहभागिता र सामुदायिक सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

सन् २०२२ मा स्थापना भएको क्लबले ‘Serve Community with Red Heart’ भन्ने मूल नारासहित विभिन्न सामाजिक तथा मानवीय सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको छ। क्लबले विपन्न समुदायको सहयोग, स्वास्थ्य शिविर, वातावरण संरक्षण, शैक्षिक सहयोग तथा राहत वितरणलगायतका गतिविधिमार्फत समाजमा सकारात्मक योगदान पुर्‍याउँदै आएको जनाएको छ।

चार्टर डे समारोह उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।