बागलुङमा महिलालाई साबुन बनाउने तालिम, सीपलाई उद्यमसँग जोड्ने प्रयास

-


     हिडन खबर    
     श्रावण ३० गते २०८३ मा प्रकाशित


बागलुङ — महिलाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर र उद्यमशील बनाउने उद्देश्यले बागलुङमा सञ्चालन गरिएको चारदिने साबुन बनाउने तालिम सम्पन्न भएको छ। बागलुङ उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा तालिम सञ्चालन गरिएको हो।

तालिममा सहभागी महिलाहरूलाई साबुन उत्पादनका सात प्रकारसम्बन्धी व्यावहारिक ज्ञान तथा सीप प्रदान गरिएको थियो। साबुन बनाउने प्रक्रिया, आवश्यक कच्चा पदार्थ, उत्पादन विधि, गुणस्तर व्यवस्थापन, प्याकेजिङ तथा उत्पादनलाई व्यावसायिक रूपमा अगाडि बढाउन आवश्यक आधारभूत जानकारीसमेत दिइएको आयोजकले जनाएको छ।

घरायसी तथा व्यक्तिगत सरसफाइमा नियमित प्रयोग हुने साबुनको बजार माग निरन्तर रहने भएकाले यससम्बन्धी सीपलाई साना तथा घरेलु उद्योगका रूपमा विकास गर्न सकिने सम्भावना रहेको बताइएको छ। स्थानीयस्तरमै उपलब्ध कच्चा पदार्थको प्रयोग, आफ्नै समयअनुसार उत्पादन गर्न सकिने सुविधा तथा बजारको आवश्यकताअनुसार विभिन्न प्रकारका साबुन उत्पादन गर्न सकिने भएकाले यो सीप महिलाहरूका लागि आयआर्जनको प्रभावकारी माध्यम बन्न सक्ने समितिको विश्वास छ।

समितिका अनुसार तालिमको उद्देश्य केवल सीप हस्तान्तरणमा सीमित नभई सहभागी महिलाहरूलाई स्वरोजगार तथा उद्यमशीलतातर्फ प्रेरित गर्नु पनि हो।

तालिम समापन कार्यक्रममा बोल्दै बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतमले हातमा सीप भएका व्यक्ति कहिल्यै बेरोजगार नहुने बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै उद्यमसँग जोड्नुपर्नेमा जोड दिनुभयो। महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन यस्ता सीपमूलक तालिम प्रभावकारी हुने उहाँको धारणा थियो।

उहाँले उत्पादन गरिएका साबुनलाई स्थानीय बजार, पसल तथा विभिन्न संस्थामार्फत बिक्री–वितरण गर्न सके घरेलु उद्योगका रूपमा विस्तार गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै यसबाट महिलाहरूको आयआर्जन वृद्धि हुनुका साथै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नसमेत सहयोग पुग्ने बताउनुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष तथा उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार सुवास आचार्य, महिला उद्यम विकास समितिका सल्लाहकार सनिसा घर्ती, तालिमका प्रशिक्षक ममता चौलागाईं, महिला हित सहकारी संस्थाकी अध्यक्ष लीला खड्का तथा सहभागीका तर्फबाट मञ्जु क्षेत्रीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

तालिममा सहभागी २८ जना महिलालाई समापन समारोहमा प्रमाणपत्र वितरण गरिएको थियो। सहभागीहरूले तालिमबाट साबुन उत्पादनसम्बन्धी व्यावहारिक ज्ञान र सीप हासिल भएको तथा आगामी दिनमा यसलाई आयआर्जन र उद्यमसँग जोड्न सहज हुने विश्वास व्यक्त गरेका थिए।

महिला उद्यम विकास समितिकी अध्यक्ष पिङ्गला खड्का जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव रम्बादेवी शाक्यले गर्नुभएको थियो भने उपाध्यक्ष जुनु श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो।

महिलाहरूलाई उत्पादनमूलक सीप प्रदान गरी स्वरोजगार र उद्यमशीलतातर्फ आकर्षित गर्ने यस्ता कार्यक्रमले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। तालिमपछि सहभागीहरूले व्यक्तिगत वा सामूहिक रूपमा साबुन उत्पादनलाई व्यावसायिक रूप दिन सके महिलाको आर्थिक सशक्तीकरण, घरेलु उद्योग प्रवर्द्धन तथा स्थानीय रोजगारी सिर्जनामा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।