
बागलुङ – ‘गीतै गाउने भनेर काठमाडौं आएको नि २२ वर्ष भएछ बाइ…’ लोक तथा दोहोरी गायिका देवी घर्तीको यो भनाइले उनको लामो सांगीतिक यात्रा मात्र होइन, संघर्ष, मेहनत र संगीतप्रतिको गहिरो समर्पणलाई पनि उजागर गर्छ। दुई दशकभन्दा बढी समयदेखि नेपाली लोकसंगीत क्षेत्रमा सक्रिय घर्ती आज पनि उत्तिकै व्यस्त र लोकप्रिय गायिकाका रूपमा आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिइरहेकी छन्।
बागलुङको गल्कोट नगरपालिका–पाण्डवखानीमा जन्मिएकी घर्तीले सानैदेखि गीतसंगीतप्रति विशेष रुचि राख्थिन्। सांगीतिक सपना बोकेर काठमाडौं पुगेकी उनले सुरुआती दिनमा अनेक चुनौतीको सामना गर्नुपरेको थियो। तर निरन्तरको साधना, अथक मेहनत र आफ्नो स्वरप्रतिको विश्वासले उनलाई नेपाली लोकदोहोरी क्षेत्रमा स्थापित गरायो।
हालसम्म उनको स्वरमा ६ हजारभन्दा बढी गीत रेकर्ड भइसकेका छन्। लोकदोहोरीसहित विभिन्न सांगीतिक विधाका गीतमा स्वर दिएकी घर्तीका धेरै सिर्जना श्रोता–दर्शकमाझ लोकप्रिय बनेका छन्। स्वरको मिठास, मौलिकता र गीतको भावअनुसार प्रस्तुत गर्न सक्ने क्षमताले उनलाई लोकसंगीत क्षेत्रकी व्यस्त तथा रुचाइएकी गायिकाका रूपमा चिनाएको छ।
देवी घर्तीको सांगीतिक यात्रा स्टुडियोभित्र सीमित छैन। उनी नेपालका विभिन्न स्थानमा आयोजना हुने सांगीतिक कार्यक्रमदेखि विदेशमा रहेका नेपाली समुदायमाझ हुने सांस्कृतिक कार्यक्रमसम्म नियमित रूपमा सहभागी हुँदै आएकी छन्। विभिन्न देशको भ्रमण गर्दै उनले नेपाली लोकसंगीतलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउन योगदान दिएकी छन्।
२२ वर्ष लामो सांगीतिक यात्रालाई फर्केर हेर्दा उनले संघर्ष, सफलता, अवसर र चुनौतीका अनेक अध्याय पार गरिसकेकी छन्। संगीत क्षेत्रमा प्रवेश गर्दा बोकेको सपना आज पनि उत्तिकै जीवन्त रहेको उनको भनाइले संगीतप्रतिको समर्पण झल्काउँछ।
उनी भन्छिन्, “मान्छेको उमेर ढल्किए पनि सांगीतिक यात्राको उमेर भने कहिल्यै ढल्किँदैन।” उनको यही सोच र निरन्तरताले उमेरभन्दा ठूलो कुरा इच्छाशक्ति, लगनशीलता र सिर्जनाप्रतिको समर्पण हो भन्ने सन्देश दिन्छ।
दुई दशकभन्दा लामो समयदेखि नेपाली लोकसंगीतमा सक्रिय बागलुङकी छोरी देवी घर्ती आज पनि नयाँ–नयाँ गीत, रेकर्डिङ र सांगीतिक कार्यक्रममा व्यस्त छिन्। संगीतप्रतिको उनको निरन्तर लगाव र योगदानले आगामी दिनमा पनि नेपाली लोकसंगीतलाई थप समृद्ध बनाउने अपेक्षा गरिएको छ।











